बेलबारी/ काठमाण्डौका चर्चित नाट्यहरु मध्येका शिल्पी थिएटरले मोरङको सलकपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित मुनामदन कृतिलाई रंगमंचमा लिएर आउने भएको छ ।

रंगमंचमा निर्देशकका रुपमा उदाउँदै गरेका सविन कट्टेलको निर्देशन रहेको मुना मदन नाटक यसअघि काठमाण्डौमा १३ दिन सम्म प्रदर्शन भईसकेको छ ।

मोफोसल र काठमाण्डौका कलाकारहरुको अभिनय रहेको नाटकमा देवकोटाको कृति मुनामदनको भावलाई अभिनयको माध्यमबाट जीवन्त राखिएको निर्देशक कट्टेलको भनाई छ ।

रंगमंचको बजारलाई उपत्यका बाहिर पनि विस्तार गर्दै कलक्षेत्रको प्रवद्र्धन गर्न मोफोसलका दर्शक माझ यो नाटक मंचन गर्न लागिएको कट्टेलले बताएका छन् ।

शिल्पी थिएटरको सहकार्य तथा विराट आदर्श साहित्यिक मञ्च मोरङको आयोजनामा हुन लागेको नाटक सलकपुरमा रहेको कबलहर्टमा मंचन हुने कार्यक्रम संयोजक सरद ढकालले बताए ।

कात्तिक १७ गते देखि तीन दिन सम्म मंचन हुने कार्यक्रममा विद्यार्थीहरुका लागि प्रवेशमा छुटको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।