विशेष गरेर सामाजिक विसङ्गतिमाथि कलम चलाउने साहित्यकार हुन्– राजेन्द्र परदेशी । उनको जन्म वि.सं.२०१५ सालमा पाँचथरको पौवासारतापमा भएको हो । बाबु नयेन्द्रराज नेम्बाङ र आमा श्रीहाङ्मा नेम्बाङको कोखबाट यस धरतीमा पाइला टेकेका परदेशी खासमा हुन्– राजेन्द्र नेम्बाङ । तर राजेन्द्र ‘परदेशी’ उपनामले नेपाली साहित्यमा सुपरिचित भए । ‘परदेशी’ धेरै लेख्ने तर थोरै छाप्ने साहित्यकारमा पर्छन् । उनले जति लेखे ती सबै पाठकसम्म पुग्न सकेनन् । परदेशीको एकमात्र प्रकाशित कृति (समयको समाधिमा बसेर) भोक लागेपछि रुख पनि हिँड्छ कविता सङ्ग्रह हो । जुन करुणा राईको प्रकाशनमा वि.सं.२०६६ सालमा बजारमा आएको हो । परदेशीका केही निबन्धहरू गोरखापत्रको विभिन्न अङ्कहरूमा प्रकाशित छन् । त्यस्तै विभिन्न समयमा अन्य केही पत्र–पत्रिकामा उनका लेख, निबन्ध र कविताहरू छापिएको पाइन्छ । परदेशीले आफ्नो काम लेख्ने हो भनिरहे र लेखिरहे । प्रकाशकहरू उनीसम्म पुग्न सकेनन् अर्थात् भनौं चाहेनन् । उनी आफै प्रकाशक खोज्दै कहिल्यै हिँडेनन् । फलस्वरुप आफ्नो जीवनकालमा आफ्नै रचनाहरू कृतिको आकृति लिएर उभिएको देख्न नपाउने अभागी लेखक बने परदेशी । वि.सं.२०३६ को भोक कविता आन्दोलनबाट प्रभावित भएर लेख्न थालेका हुन् परदेशीले । उनको एकमात्र प्रकाशित कृति (समयको समाधिमा बसेर) भोक लागेपछि रुख पनि हिँड्छभित्र सङ्ग्रहित ५२ कवितामध्ये २० वटा भोक कविता छन् । परदेशीका कविताहरू प्रायः छोटा आकारका छन् । ती सरल छन् । सरस र गहन पनि छन् । इलामका स्रष्टा स्व.विष्णुनवीनप्रति समर्पित उनको एउटा पोट्रेट कविता यस्तो छ– कहिल्यै नसुतेजस्तो –तिम्रो आँखा कहिल्यै नबोलेजस्तो –तिम्रो जिब्रो कहिल्यै आराम नगरेजस्तो –तिम्रो शरीर कहिल्यै भेट नभएजस्तो तिमी मान्छे ‘विष्णु नवीन’ भोक लाग्छ, लाग्दैन ? (भोक र विष्णु नवीन) हिन्दी साहित्यका राम्रो पाठक परदेशीले साँस्कृतिक चेतनाका लेख, निबन्ध र कवितालाई लेखनको मुख्य विधा बनाएको देखिन्छ । साहित्यकार प्रेम ओझाका अनुसार खोज–अनुसन्धानमा पनि उनको गहिरो रुचि थियो । वि.सं.२०४५ सालमा नौलो साहित्यिक बिहान (हाल प्रतिष्ठान) पाँचथरको वार्षिक उत्सवमा पाँचथरको साहित्यिक इतिहास शीर्षकको कार्यपत्र प्रस्तोता परदेशी पाँचथरे साहित्यिक इतिहासको खोजी गर्ने पहिलो पाँचथरे स्रष्टा पनि हुन् । जुन कार्यपत्र पाँचथरको साहित्यिक इतिहासमा अप्रकाशित कार्यपत्रको नामले चर्चित छ । खास गरेर सामाजिक विसङ्गति र तत्कालीन समयगत विसङ्गतिलाई उदाङ्गो पार्नु परदेशीको लेखनगत प्रवृत्ति र विशेषता हुन् । थोरै शब्दमा धेरै र गहन विषयवस्तुको उठान गर्न सक्नुका साथै तीक्ष्ण व्याङ्ग्यचेत उनको अर्को विशेषता हो । परदेशीद्वारा रचित एउटा दुई हरफे कविता यसको उत्कृष्ठ नमुना हो । जुन आज पनि उत्तिकै सान्दर्भिक लाग्छ । हेरौं– एकभन्दा अर्को वीर अझ परमवीर बिना योग्यताको जागिर । (राजनीति) वरिष्ठ आख्यानकार तथा कवि अमर नेम्बाङका सहोदर भाइ हुन् परदेशी । साहित्यिक थियो परिवार नै । पौवासारतापको नेम्बाङ घरानामा जन्मेका उनले सिमानापारि दार्जिलिङमा बसेर म्याट्रिकुलेसनसम्मको अध्ययन गरे । पछि इलामबाट प्रमाण–पत्र तहसम्मको अध्ययन पूरा गरे । उनले कम्युनिष्टको राजनीतिसमेत गरे । अन्ततः गाउँ फर्केर स्थानीय पद्मकन्या स्कुलमा हेडमास्टर भएर गाउँको शैक्षिक उन्नयनमा आफूलाई समर्पित गरे । सिर्जनामा कम घोटिन थाले । नेपाली कविता लेखनका शिखरपुरुष वैरागी काइँलादेखि बहुरङ्गवादका डिजाइनर धर्मेन्द्रविक्रम नेम्बाङसम्मलाई जन्म दिने पौवासारताप गाउँ त्यसै पनि स्रष्टा जन्माउने थलो हो । युगौंदेखि मौन संवादमा उभिएका छन् सिलौटी डाँडा र तीनचुले देउराली । बीचमा बसेको छ– पौवासारताप । त्यहीँबाट बग्छ स्याङ्खोला । स्पष्ट सुनिन्छ निभुको सुसेली । जीवनको उत्तराद्र्धमा लेखनबाट निष्क्रिय बनेका परदेशी त्यै गाउँमा उम्रिए र त्यै गाउँमा अस्ताए । लेखनमा बेग्लै शक्ति भएका परदेशीका अप्रकाशित रूपमा थन्किएर रहेका लेख, निबन्ध र कविताहरू कति छन् यकिन छैन । तिनीहरूको खोजी गरी पाठकमाझ ल्याउन सकिएमा स्व.परदेशीप्रतिको सच्चा श्रद्धाञ्जली हुने थियो ।