घण्टाघर / धरानस्थित धरान इन्टरनेशनल कलेजका विद्यार्थी, अध्यापक हाइकिङमा रमाएका छन् । धरानदेखि चिल्डेडाँडामा पुगेर टोली फर्किएको थियो । कलेजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन हाइकिङ कार्यक्रम राखिएको कलेजका सिइओ दीपक श्रेष्ठले जानकारी दिए । कार्यक्रमको दोस्रो दिन (आज) अपाङ्ग पुनस्थापना केन्द्र र सरस्वती बालआश्रम विभिन्न सामग्री प्रदान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । ‘खाद्य सामग्री, कापी, डटपेनलगायतका शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम राखेका छौं’, सिइओ श्रेष्ठले भने । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वक्तृत्वकला र होटल भिजिट, जुम्बा, फुटसल खेलाइने उनले बताए । कलेजका विद्यार्थी, कलेजका अध्यापक र पत्रकारबीच फुटसल कार्यक्रम राखिएको उनको भनाइ छ । कलेजमा यस वर्षदेखि बिएचएम कार्यक्रम सञ्चालनमा ल्याएको छ । मङ्सिर पहिलो सातादेखि कक्षा सञ्चालन हुने सिइओ श्रेष्ठले बताए ।