सिरहा/अपराध नियन्त्रण गर्न प्रहरीले समुदायसँग हातेमालो गरेको छ । सामाजिक विकृति बिसङ्गतिविरूद्ध जनचेतना फैलाउन र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले स्थानीयसँग संस्थागत साझेदारी गर्ने भएको हो ।
यसका लागि अभियान सञ्चालन गरेको छ । त्यसका लागि सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठ र जिल्लाका-७ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरूले समुदाय र प्रहरी साझेदारी समझदारी पत्रमा शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गर्दै प्रतिवद्धता गरेको हो ।
अपराधिक घटनाहरू बेरोजगारी, अशिक्षा, न्युन आयस्रोत, गरिबी, एकल–अभिभावक परिवार, लागुऔषध दुर्व्यसन, मादकपदार्थ सेवन, बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती, बसाइ–सराइका कारण अस्थिर जनसंख्या लगायतका सामाजिक कारणहरूसँग पनि अन्तर सम्बन्धित हुने भएकाले प्रहरीको एकल प्रयासबाट मात्र असम्भव हुने भएकाले यो अभियान शुरू गरिएको एसपी श्रेष्ठले बताए ।
‘अपराध रोकथाम तथा सामाजिक सुरक्षा सचेतना अभिवृद्धि गराउने कार्य प्रहरीको एकल प्रयासबाट मात्र प्रायः असम्भव हुन्छ,’ समुदाय र प्रहरी साझेदारी अवधारणा तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा एसपी श्रेष्ठले भने, ‘यही तथ्यलाई मनन् गर्दै समुदाय–प्रहरी साझेदारीको अवधारणा अनुरूप सम्पुर्ण सरोकारवालाहरूको सामुहिक प्रयासबाट अपराध रोकथाम तथा सामुदायिक स’रक्षा सचेतना अभिवृद्धि गर्ने कार्य अगाडि बढाउने अभियान शुरू गरिएको हो ।’
अभियानलाई जिल्ला, नगर, गाउँपालिका, वडा, विद्यालय र टोल–टोलमा समिति गठन गरी अघि बढ्ने उनले जानकारी दिए ।
गठित समितिले सुरक्षा चेतना अभिवृद्धि गर्न आवश्यक क्षेत्र प्राथमिकीकरण गरी नगर, गाउँ र टोल–टोलमा साझा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गर्नेछन् भने समुदायको सुरक्षामा स्थानीय सामुहिक सहभागिता बढाउन प्रोत्साहन हुने किसिमका कार्यक्रमहरू गर्ने र सडक बत्ती, सुरक्षा गार्ड, सिसीटिभीलगायत सुरक्षा साधनहरू जडान गरी प्रयोग गर्न प्रेरित गर्नेछन् ।
तराई मधेसको जिल्लामा मेला पर्व अधिक हुने भएकाले मेला, पर्वमा सुचना तथा समन्वय केन्द्र सञ्चालन गर्न समितिले समन्वय गर्नेछ ।
कार्यक्रममा सामुदायिक सुरक्षा सचेतना अपराध रोकथामको सबैभन्दा महत्वपुर्ण पक्ष भएकाले अपराध रोकथाम, न्युनीकरण र समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्नको लागि समुदाय–प्रहरी साझेदारीको माध्यमबाट विभिन्न सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरी अभियानलाई अघि बढाउने सिरहाका स्थानीय तहका प्रतिनिधिले औंल्याए ।
प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले सुरक्षा विकासको पुर्वसर्त भएको र विकास सुरक्षित समाजको आधार भएकाले यही अन्तरसम्बन्धलाई मनन् गर्दै सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरूप स्थानीय तह र स्थानीय प्रहरी इकाइबीच प्रभावकारी समन्वय, सहकार्यबाट स्थानीय विकास, सेवा प्रवाह र स’रक्षालाई एकीकृत रूपमा अगाडी बढाउन समुदाय–प्रहरी साझेदारी अभियान सफल हुने आशा व्यक्त गरे ।