बिर्तामोड/सम्बन्धित निकायको अनुगमन नहुँदा बुकिङहरूले चर्को भाडा असुलिरहेका छन् ।  प्रशासनको मौनताको फाइदा अहिले बस काउण्टरहरूले लिइरहेका छन् ।

दशैं मानेर राजधानी फर्किनेहरुबाट अहिले मनपरी भाडादर लिइरहँदा पनि प्रशासनले निगरानी तथा अनुगमन नर्गदा त्यसको प्रत्यक्ष फाइदा लिइरहेको यात्रुहरूको आरोप छ ।

यातायात व्यवसायीको हकमा जिल्ला प्रशासनले अनुगमन गर्नुपर्ने हुन्छ । तर, जिल्ला प्रशासन भने उजुरी आए कारबाही गर्ने दाबी गर्दै पन्छिने गरेको छ ।

यात्रुहरूले ‘उजुरी गर्नुभन्दा बढी रकम तिरेर’ जानुमै हितकर मान्ने गरेका छन् । अहिले बीपी राजमार्ग हुदै काठमाडौं जाने माइक्रोबस कम्पनीका गाडीहरूले सरकारले तोकेभन्दा ५० प्रतिशत बढी भाडा असुलिरहेका छन् ।

खुलेआम ठगी हुदा पनि जिल्ला प्रशासन बेखबर छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौसम्मको लागि सरकारले असोज ७ गतेदेखि बढेको समेत गर्दा १ हजार १ सय ७२ रुपैंयाँ भाडा तोकेको छ ।

तर, माइक्रोबसले यो बेलामा उक्त भाडादरमा चढाउन नमान्ने गरेको यात्रुको गुनासो छ । माइक्रोबसले काँकडभिट्टादेखि काठमाडौंको ६ सय १० किलोमिटर दुरीका लागि तोकेको भाडामा यात्रु ओसार पसार गरेका छैनन् ।

उनीहरूले काँकडभिट्टा–सिन्धुली–काठमाडौंको छोटो दूरीको यात्रामा पनि त्योभन्दा धेरै भाडा लिएका छन् । सो बाटोबाट ४ सय ७६ किलोमिटरमा काठमाडौं पुग्न सकिन्छ ।

सो बाटोमा गुड्ने माइक्रोबस कम्पनीले एकजना यात्रु बराबर १ हजार ५ सय रुपैयाँ असुलिरहेको भए पनि नियमन गर्ने निकाय बेखबर छ ।

सरकारी नियमानुसार त्यस बाटोमा गुड्ने सार्वजनिक सवारी साधनमा यात्रुभाडा ९ सय १४ रूपैयाँ हुनुपर्ने जानकारहरूको भनाइ छ ।

त्यसमा एसी चलाएको भए २० प्रतिशत अतिरिक्त भाडा असुल्न पाउने कानूनी प्रावधान रहेको छ ।

माइक्रोबस कम्पनीका एकजना सञ्चालकले यातायात क्षेत्रको बेथिती पर्गेल्न नसक्ने बताए । ‘मेरा पनि ३ सय कर्मचारी छन्, सबैले मैले भनेको त मान्दैनन नि,’ उनले भने, ‘अहिले काठमाडौंबाट फर्किदा खाली आउनुपरेका कारण धेरै भाडा लिएको हुनसक्छ, म बुझेर खबर गर्छु ।’ उनले फर्किने यात्रु नपाउँने कारण देखाए पनि यो सिजनभन्दा अघि पनि माइक्रोको ठगी कायम नै रहेको यात्रुले बताए ।

‘कतिपय माइक्रोले इटहरीबाट १ हजार ५ सयमा यात्रु ओसारेका छन् भन्ने सुनेको छु, ती व्यवसायीले भने, ‘केहीले चाहिँ रिजर्भमा हो भने मात्र जाने भनेर १५ जना यात्रु अट्ने माइक्रोको ३० हजारसम्म भाडा असुलिरहेका छन् ।’ उनले छोटो दूरीका सार्वजनिक सवारीले झन ब्रम्हलुट गरिरहेको आरोप लगाए ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बढी भाडा असुलेको आफूलाई जानकारी नभएको बताए ।

‘बिर्तामोडमा यात्रु सहायता कक्ष छ, त्यहाँ गएर कम्प्लेन गर्नु पर्यो नी ?,’ दाहालले प्रश्न गर्दै भने, ‘कुन बसले बढी भाडा लिएको छ, मलाई सूचना दिनु म कारबाही गर्छु ।’ काउण्टरले यात्रुलाई टिकट नदिने गरेकाले भाडाका बिषयमा अनुगमन गर्न नसकिएको दहालको भनाइ छ ।

यद्यपि काँकडभिट्टाबाट काठमाडौं जाने अधिकांस माइक्रोबसले यात्रुबाट १ हजार ५ सय रुपैयाँ असुलिरहेका छन् । प्रजिअ दहालले रिजर्भ गरेर जाने सवारी साधनमाथि कारबाही गर्न नसकिने बताए ।

उनले यस समयमा हुने ठगी नियन्त्रणको लागि अनुगमन गर्नेबारे केही नसोचेको भन्दै यात्रु सहायता कक्षसँग बुझेर अनुगमन गर्ने बताए ।

जिल्ला प्रशासन कार्यालयले दशैअघि बिर्तामोडमा यात्रु सहायता कक्ष स्थापना गरेको थियो । सहायता कक्षले भाडामा हुने ठगीदेखि यात्रुको गन्तब्यसम्मको सुरक्षित यात्राका लागि भूमिका खेल्ने बताएको थियो ।

लामो दूरीका राजमार्गमा माइक्रोबसको उदयसँग ठूला बस घटेका छन् । ठूला बस घटेपछि यात्रुहरू माइक्रोबस र जिपको भर पर्न थालेका हुन् ।

माइक्रोबस मात्र होइन झापा–काठमाडौंको रूटमा चल्ने जिपले झन मनोमानी भाडा असुल्दै आएको यात्रुको गुनासो छ ।