इनरुवा/आइतबारबाट शुरु भएको समूदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारिताका लागि सुनसरीका सरोकारवालाहरूले ऐक्यवद्धता जनाएका छन् ।
सदरमुकाम इनरुवामा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा सहभागि सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवालाहरुले कार्यक्रमको उद्देश्य प्राप्तीका लागि साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सुनसरीमा जिल्ला समन्वय समितिसहित जिल्ला प्रशासन कार्यालय र एक नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त समन्वयमा समूदाय प्रहरी साझेदारी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । जिसस सुनसरी प्रमुख गोपालराज भण्डारीले उद्घाटन गरे ।
सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले अभियानको उद्देश्यबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती सहित इनरुवा नगरपालिका प्रमुख राजन मेहताका साथै सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखका साथै सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
समूदाय प्रहरी साझेदारी कार्यक्रमले हरेक स्थानीय तहमा केन्द्रीत रहेर सबै पक्षसँगको समन्वय र सहकार्यका आधारमा समूचित सहभागितालाई सुनिश्चित गर्दै सचेतनासँगै सुरक्षाका उपाय अवलम्बन गर्न सघाउ पुर्याउने सुनसरीभात प्रहरी प्रमुख राजन अधिकारीको भनाई छ ।