धरान/ उदयपुरस्थित मैनामनीको पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्ने अभिप्रायले ‘प्रथम मैनामैनी पर्यटन महोत्सव’ लगाइने भएको छ । बेलका नगरपालिका–७ मैनामैनीमा आगामी पुषको १ गतेदेखि सप्ताहव्यापी महोत्सव लगाइने भएको हो । सप्तकोशीको तटीय क्षेत्र मैनामैनीमा मैनारानी चम्पाकेशरी र महाङ्काली देवीको मन्दिरलगायत रहेका छन् । धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिने उद्देश्य रहेको छ । महोत्सव अवधिभर चम्पाकोटबाट दैनिक प्याराग्लाइडिङ उडान, रानीटाबारबाट दैनिक र्याफटिङ प्याकेज, कोशीटप्पु वन्यजन्तु आरक्षमा दैनिक जङ्गल सफारी, कोशी नदीमा जलविहारलगायतका सुविधा प्रदान गर्न लागिएको बेलाका नगरपालिकाका ६ नम्बर वडाध्यक्ष तथा कार्यक्रम संयोजक सुरेन्द्र राईले आइतबारको पत्रकार सम्मेलनमा बताए ।

बेलका नगरपालिकामा रहेको टङ्केला गुफाको अवलोकन, कोलोहोङ झरनामा क्यानोनिङ, तीनकोशीको सङ्गम स्थलको अवलोकन, स्थानीय मौलिक खानेकुराको स्टल रहने छ । स्टलमा स्थानीय अर्गानिक कृषि उत्पदानको स्टल रहने छ । त्यस्तै मह, सिस्नो र टाँकीको तरकारीसमेत स्टलमा रहने छ । मैनामैनीमा रहेको बुड्बुडे ढुङ्गाको भीमकाय स्वरूपसमेतको प्रचारगर्दै बुङ्सुकोटे राजना, मैनाराजाको ऐतिहासिक तथ्यलाई उजागर गरिने लक्ष्य लिएको छ ।

भिडियाे हेर्न यहाँ  क्लिक गर्नुहाेस् ।