बेलबारी/पूर्व–पश्चिम चुरेफेदी मोटरबाटोलाई मदन भण्डारी नामाकरण गरी बाटोको सर्वेक्षण गरिएसँगै नागरिकहरूमा आएको खुसीले चिन्ता पनि ल्याएको छ ।

सडकका कारण घर तथा जग्गा काटिने चिन्ता थपिएको हो । मेचीको पाटापुरदेखि कर्णालीको रुपालसम्मको एक हजार २ सय किलोमिटर सडकले छुने बजार र बस्ती भत्किने कारण कमभन्दा कम क्षतिको बिकल्प खोज्न स्थानीयले प्रतिक्रिया दिन थालेका छन् ।

वस्ती नै उठ्ने सम्भावित बजारबासीद्वारा विरोधको स्वर सुनिन थालेको छ । राष्ट्रिय गौरवको रूपमा रहेको यो योजनाको बाटोको चौडाई कति रहने भन्ने लगायतका जिज्ञासाहरू सर्वसाधरणमा रहेका कारण पनि अन्यौलता सिर्जना भइरहेको छ ।

केराबारी गाउँपालिकाको मुख्य बजारको बाटो भएर उक्त बाटोको सर्वेक्षण भएपछि स्थानीयहरुले त्यसको पक्ष र विपक्षमा टिप्पणी गर्न थालेका हुन् ।

कतिपयले साविक बाटोमै नयाँ बाटो बन्नु पर्ने धारणा छ भने कतिपयले बजारदेखि उत्तर वा दक्षिणको भागबाट बन्नुपर्ने धारणा रहेको छ । यस विषयमा गाउँपालिकामा ज्ञापन–पत्र समेत बुझाएका छन् ।

आइतबार मोरङको केराबारीमा आयोजित नेकपाको गाउँपालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि तथा प्रदेश सांसद्लाई मदन भण्डारी मार्गको विषयमा स्पष्ट पार्न कार्यक्रममा सहभागीहरुले प्रश्न गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद घनश्याम खतिवडाले यो बाटो पचहत्तर फिट मात्र चौडाइ रहने र तत्काल ७ मीटर मात्र पीच हुने बताएका छन् ।

४ अर्व ६० करोडको उक्त मार्ग निर्माणको क्रममा भएको क्षति सरकारले पूर्ति गर्ने भएको हुँदा यस विषयमा सर्वसाधरणहरु चिन्तित् नहुन् आग्रह पनि गरेका छन् ।

कार्यक्रममा पार्टीका कार्यकर्ताहरुले कम्युनिष्ट र काँग्रेसको सरकारमा तात्विक भिन्नता नभएको गुनाशो गरेका थिए । कार्यक्रममा अतिथिका रुपमा रहेका प्रदेश सांसद उपेन्द्र घिमिरे र गाउँपालिकाका उपाध्यक्ष शान्ति भुजेलले कार्यक्रममा उठेका सवाललाई प्रष्ट पारेका थिए ।

कार्यक्रम पार्टीका संयोजक टेकबहादुर लिम्बूको सभापतित्वमा सम्पन्न भएको थियो ।