काठमाडौं / आफैंले आयोजना गरेको नेकपाको चियापानमा समेत सहभागी हुन नसकेका प्रधानमन्त्री केपी ओलीलाई साेमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । विहान साढे चार बजे प्रधानमन्त्री अस्पताल भर्ना भएको खबर फैलिएपछि सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्ताहरुमा उनको स्वास्थ्यबारे बmुझ्न अस्पताल पुगेका छन् । अस्पतालका अनुसार उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा भर्ना गरिएको छ । प्रधानमन्त्रीको शरीरमा चिनीको मात्रा असन्तुलिन र छातिमा संक्रमण देखिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको बताइएको छ । प्रधानमन्त्री ओलीले केही दिनयता सुख्खा खोकीको समस्या रहेको थियो । राजधानीमा चिसो बढेसँगै उनलाई समस्यामा पारेको हो । खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएको छ । १२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई चिकित्सकले भिडभाड, धुँवाधूलो र धेरै तनावबाट टाढा रहन यस अघि नै सुझाइएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सोमबार बिहान नेकपा अध्यक्ष प्रचण्ड शिक्षण अस्पताल पुगेका थिए । उनले त्यहाँ ओली र चिकित्सकहरुलाई भेटेर स्वास्थ्यबारे जानकारी लिएका छन्। यस्तै नेकपाका महासचिव विष्णु पौडेल, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, भीम रावल, टोपबहादुर रायमाझी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतले ओलीलाई भेटेर स्वास्थ्य लाभाको कामना गरेका छन् ।