धरान / गोर्खा डिपार्टमेन्टको स्टोरको धरान शाखा भवनमा जङ्गली जनवार फेला परेको छ ।
बिरालो प्रजातिको जनवार फेला परेको हो । तर, हालसम्म उक्त जनवार पहिचान हुन नसकेको छैन् । प्रहरीका अनुसार कतैबाट आएर फसेको हुन सक्छ ।
डिपार्टमेन्टमा कार्यरत इलेक्ट्रिसियनले उक्त जनवार पहिलो पटक देखेका थिए । स्टोरको निर्मित भवनको पिल्लरको दुई तिरको चेपमा फसेको छ । केही दिनअघिदेखि बेग्लै आवाज निकालेर कराउने गरेको थियो ।
जसका कारण त्यहाँ कार्यरत कर्मचारीहरूले भूतप्रेतको आशङ्का गरेका थिए । तर सोमबार बिहान इलेक्ट्रिसियनले काम गर्ने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
वडा प्रहरी कार्यालय धरानका सइ जसकुमार लिम्बूका अनुसार कालो देखिने मुखसमेत सानो भएको शरीरको भागमा टाटे रहेको छ । ‘यस्तो जनवार मैले यसअघि देखेको थिइन ।’ उनले भने । जनवारको उद्दारको लागि कोशी टप्पू वन्यजन्तु आरक्षलाई खबर गरिएको उनले जानकारी दिए ।
सेक्टर वन कार्यालय धरानको टोलीले पनि कुन प्रजातिको जनवार हो भन्ने पहिचान गर्न सकेको छैन । सुरक्षित रूपमा निकाल्न लागि वन्यजन्तु आरक्षलाई खबर गरिएको सेक्टर वन कार्यालयले जनाएको छ ।
कहिलेदेखि फसेको हो भन्ने यकिन भन्न सकिने अवस्था नभएको प्रहरी बताउँछ ।