लहान/ सिरहाको कर्जन्हा नगरपालिकामा लगाइएको गाँजा खेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी दीपेन्द्र साह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी डीएसपी गेहेन्द्रबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले कर्जन्हा–५ बडहरा मिर्चैयामा अवैध रूपमा अन्दाजी ३ बिघा १० कट्ठा जमिनमा लगाइएको करिब २५ हजार गाँजाको बोट फँडानी गरी सोमबार नष्ट गरेको हो ।

गाँजा खेती फँडानी गर्न अभियान नै सञ्चालन गरिएकाले सोही अभियानअन्तर्गत गाँजा फँडानी गरिएको डीएसपी साहले बताए । गाँजा लागूऔषध भएकाले गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारबाही हुने समेत उनले जनाए ।

स्थानीयले घरबारीमा लगाइएको गाँजा प्रहरीले उखेलेर स्थानीयस्तरमै आगो लागाएको प्रहरीले जनाएको छ । सिरहाको कर्जन्हा, मिर्चैया, गोबलजार, धनगढीमाई, लहान नगरपालिकाको उत्तरी क्षेत्रमा लुकाइछिपाइ गाँजा खेती हुने गरेको बताइन्छ ।

सोही क्रममा प्रहरीले उत्पादित घरेलु मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको जनाएको छ । प्रहरीका अनुसार पाँच सय लिटर मदिरा र करिब सात हजार लिटर मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको छ ।

मदिरा नष्ट गर्ने क्रममा प्रहरीले सूचना नै नदिई जबरजस्ती घरभित्र पसेर स्थानीयलाई गाली बेइज्जत गरेको स्थानीयको आरोप छ । एक स्थानीयका अनुसार प्रहरीले पञ्चायती शैलीमा गालीगलौज गर्दै घरभित्र पसेर हातपात समेत गरेको जनाएको छ ।