भद्रपुर/सरकारी कामका लागि पेश्कीस्वरूप लगेको करोडौँ रकम म्याद गुज्रिसके पनि फछ्र्यौट नभएको पाइएको छ ।

झापाको भद्रपुर नगरपालिकाबाट कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समिति सङ्घ–संस्थालगायतले लगेको १ करोड ४१ लाख ३१ हजार ९ सय २९ रूपैयाँ पचास पैसा पेश्की रकम हालसम्म फछ्र्यौट नभएको हो ।

आर्थिक वर्ष ०७४/०७५ को असार मसान्तसम्म यो रकम बाँकी देखिएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । पेश्की रकम लैजानेमा भूतपूर्व कर्मचारी, तत्कालीन र हालका जनप्रतिनिधि छन् ।

नगरको चालु खर्चतर्फ १ लाख ५ हजार ८ सय ५ रुपैयाँ देखिएको छ । जसमा नगरका कर्मचारी, ०६२/०६३ का भूतपूर्व पदाधिकारी र निर्माण व्यवसायी रहेका छन् ।  उनीहरूले नगर सरसफाइ पारिश्रमिक, वडाध्यक्ष भत्ता, कार्यालय शौचालय निर्माणको लागि पेश्की रकम लिएको उल्लेख छ ।

पूँजीगत खर्चतर्फ १ करोड १८ लाख ४३ हजार ५ सय ९९ रुपैयाँ २५ पैसा पेश्की बापत भुक्तानी भएको छ । नगरपालिकाको तथ्याङ्कमा निर्माण व्यवसायीतर्फ कार्यालय भवन निर्माणको लागि गाल्वा/पुष्पाञ्जली जेभी काठमाडौंले २० लाख, कोल्ड स्टोर निर्माणमा सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौंले ६ लाख रकम लगेको लेखा शाखाले जनाएको छ ।

त्यसैगरी उपभोक्ता समितितर्फ १० नम्बर वडासदस्य तथा लेखनाथ मार्ग निर्माण समितिका अध्यक्ष तुलसीप्रसाद पोखरेलले नगर विकास,नाला निर्माण,सडक कालोपत्रेका लागि ५१ लाख ४४ हजार रूपैयाँ बुझाउनुपर्ने देखिन्छ ।

तर, वडासदस्य पोखरेलले नगरपालिकाले कायम गरेको २० फुट बाटो भए पनि स्थानीयले ३० फुट चौडाइको बनाउनुपर्ने अडान कसेका कारण ३० फुट चौडाइ बनाएकाले बिल फस्र्यौटमा समस्या उत्पन्न भएको बताए ।

उनले तत्कालै ३० फुट चौडाइ निर्माण गरेको निर्णय गरेर समस्याको समाधान गरिने बताए । नगरस्तरीय फुटबल खेलकुद व्यवस्थापन समितिको नाममा खेलकुद विकास कार्यक्रम शीर्षकमा केशव मैनालीले ९० हजार पेश्की रकम लिएका थिए ।

त्यस्तै अन्यले लेखापरीक्षण प्रतिवेदन, मधेशी विकास कार्यक्रम सञ्चालन, वडास्तरीय योजना, सडक ग्राभेल, तटबन्धका लागि रकम लगेको लेखापाल सुवास भट्टराईले जानकारी दिए ।

साथै पदाधिकारी तथा अन्य सङ्घ–संस्थाले गरी ३० लाख ८६ हजार १ सय ९४ रुपैयाँ ५० पैसा पेश्की स्वरूप रकम लगेको उनले जनाए ।

२१ जना व्यक्तिले वडा विकास योजना, तरकारी खेती ऋण, लेखापरीक्षण प्रतिवेदन, लक्षित समूह बालबालिका विकास कार्यक्रम र पार्क मर्मत शीर्षकमा रकम लगेको उनको भनाइ छ ।

पेश्की रकम लगेकोमध्ये सबैभन्दा बढी पार्क मर्मतमा रोटरी क्लब अफ भद्रपुरको नाममा २७ लाख रूपैयाँ रहेको छ । तत्कालीन समयमा दीपेश ढकाल रोटरीका अध्यक्ष थिए ।

उनले नगरपालिकाबाट ल्याएको रकमभन्दा बढीको काम गरिकसकेको र बिलहरू पनि नगरपालिकालाई दिइसकेको जानकारी दिए ।

उनले भने, ‘एक महिनाअिघ इञ्जिनियर योगेन्द्र रञ्जितकारलाई बिलहरू दिइसकेको छु । यदि बिल उहाँले बुझाउनु भएको रहेनछ भने तिहारपछि बसेर लगत्तै समाधान गर्छु ।’

त्यसैगरी प्राकृतिक प्रकोप व्यवस्थापन कोष खर्चतर्फ दुईजना कर्मचारीले मर्मत तथा पूजा शीर्षकमा ४१ हजार र क्षमता विकास कोष खर्चतर्फ राजस्व सम्भाव्यता अध्ययन शीर्षकमा विराट परामर्श सेवा काठमाडौंले ४० हजार पेश्की कम लगेका छन् ।

त्यस्तै सामाजिक परिचालन कोष खर्चतर्फ पन्ध्र ओटा नागरिक सचेतना केन्द्रले २१ लाख १ हजार ५ सय रुपैयाँ पेश्की लिएका छन् ।

उनीहरूले ३० हजारदेखि २ लाख १३ हजार ५ सयसम्म रकम लगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

पेश्की लगेको रकमको म्याद नाघेकोले केही दिनभित्र राजस्वको बैठक बसेर सूचना सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले बताए ।

तोकिएको म्यादमा पेश्की फछ्र्यौट नगरेमा कामको प्रकृति हेरेर १० प्रतिशत थप जरिवाना लाग्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

सम्झौताअनुसार काम फछ्र्यौट नगरेमा व्यक्तिबाट असूलउपर गरिने उनको भनाइ छ ।