धरान/मोडलिङ संसारको कुरा गर्दा पूर्वमा धरानको नाम अग्रपंक्तिमा आउँछ । पूर्वमा मोडलिङको छुट्टै संसार छ भने त्यो धरानमै छ । मोडलिङ गर्नेहरूको लागि यो उर्वरभूमि नै हो भने फरक पर्दैन ।
पछिल्लो समय च्याउ उम्रिएसरी मोडल तथा मोडलिङ एजेन्सीहरू छन् । अझ मोडलिङ गराउने तथा सिकाउने सङ्घ–संस्था पनि बढ्दै छन् । धरानमा उत्तम बनेपालीले सन् १९९७ मा पहिलो पटक ‘समर फेसन १९९७’ गराएर युवतीहरूलाई पहिलो पटक प्लेटफर्म दिए । अहिले धरानमै आधा दर्जन बढी सङ्घ–संस्थाले प्लेटफर्म पनि सिर्जना गरिरहेका छन् । त्यसैमध्येको अग्रपंक्तिमा आउने सिल्भर इन्टरटेनमेन्ट प्रालि पनि एक हो ।
जसले मोडलका लागि प्लेटफर्म सिर्जना गर्छ । व्यवसायिक रूपमा २०१० देखि मिस पूर्वाञ्चल प्रारम्भ गर्दै अहिलेसम्म धेरै युवतीहरू यो रङ्गीन दुनियाँमा प्रवेश गराइसकेको छ । केही व्यवसायिक छन् केहीले पब्लिक फिगर बनाएका छन् । २०१३ की मिस पूर्वाञ्चल नेहा बजाज भन्छिन्, ‘सुन्दरी प्रतियोगिताले सकारात्मक सोच ल्याउँदो रहेछ । तर समाजले यसलाई अझै नकारात्मक सोच्छ ।’ उनका अनुसार यो युवतीको लागि गतिलो प्लेटफर्म हो । ‘यसमा भिड्ने जो कोहीले आफूलाई बुझ्न सक्ने हुन्छन् जस्तो लाग्छ । म आफूलाई बुझ्न सक्ने भएको मिस पूर्वाञ्चलकै कारण हो ।’ बजाज आफ्नो अनुभव यसरी शेयर गर्छिन् ।
सिल्भरका इभेन्ट मेनेजर सौरभ श्रेष्ठका अनुसार हालसम्म एकदर्जन बढी मोडलहरू व्यवसायिक बनिसकेका छन् । शुरूवाती दिनमा सिल्भरले कन्सर्टहरू मात्रै गर्दै आएको थियो । २०१० मा बुढासुब्बा ट्रेनिङ सेन्टरले मिस धरान गर्ने सोच राखेपछि नै उक्त कार्यक्रमलाई नै मिस पूर्वाञ्चलको रूपमा विकास गरिएको हो ।
श्रेष्ठ भन्छन्, ‘शुरूमा मिस धरान गर्ने सोच थियो सेन्टरको । त्यसमा म पनि जोडिएँ । त्यसपछि नै मिस पूर्वाञ्चल बनाएर २ वर्ष सहकार्य गर्यौं ।’ मिस पूर्वाञ्चलले धेरै युवतीलाई ‘बाहिर’ ल्याउने काम गरेको उनको भनाइ छ । ‘भिड्नेहरू सबै मोडल नै हुन्छन् भन्ने छैन, पब्लिक फिगर बनाउँछन्’ उनी भन्छन्, ‘यो प्लेटफर्म मात्रै हो । भविश्य आफैले बनाउने हो ।’
ब्युटी पेजेन्टको अग्रणी धरान मात्रै हैन, पूर्वका अन्य शहर पनि छन् । विराटनगरले पनि व्यवसायिक मोडल उत्पादन गर्नमा भूमिका खेलिरहेको छ । मञ्जिना मुभी क्रिएसन प्रालिले ९ वर्ष अगाडिसम्म मिस पूर्वेली आयोजना गर्दै आएको थियो । ६ वर्ष निरन्तर चल्यो । अहिले मञ्जिनाले मिस नेवा गर्दै आइरहेको छ ।
मिस पूर्वेलीबाट रेस्मा घिमिरे, कामना भुजेल जस्ता प्रतिस्पर्धीहरू मोडल हुँदै नायिका बनेका छन् । उनीहरू अहिले फिल्मी दुनियाँमा छन् । मञ्जिनाका प्रमुख जतिन ताम्राकार भन्छन्, ‘राम्रो प्लेटफर्म सिर्जना गरौं भनेर लागियो । अहिले पनि त्यसैमा व्यस्त छु ।’ अहिले अनिगिन्ती प्लेटफर्महरू छन् । केही ब्युटीपेजेन्टका आयोजकहरू केही समय गर्ने त्यसपछि हराउने गरेका छन् । जसले गर्दा समाजमा विश्वास घट्ने गरेको ताम्राकारको अनुभव छ ।
उनी भन्छन्, ‘पब्लिक फिगर बनाउँछ । तर, पूर्वाञ्चलमा मोडलहरू छाडा प्रवृत्ति मौलाएको छ । जसले गर्दा मोडलिङप्रति समाजको बुझाइ नै नकरात्मक बनेको छ ।’ १५ वर्षअघि मोडलिङप्रतिको बुझाइ नै फरक थियो । ‘त्यो बेला मोडलिङ भन्ने नै बुझ्दैन थिएँ । एकदमै गलत सोच्थे’ १९९६ मा मिस नेपालमा भिडेकी धरानकी अग्रज मोडल कला लिम्बू भन्छिन्, ‘त्यो सम्झिँदा अहिले त सपनाजस्तो लाग्छ । एकदमै स्ट्रगल थियो । अहिले समाजको दृष्टिकोण परिवर्तन भएको छ ।’
मोडल बन्छुभन्दा नै आक्रमण नै हुने अवस्थाबाट अहिले समाज र समाजको विचार नै बृृहत् भएको उनलाई लाग्छ ।माओवादी द्वन्द्वकालका कारण उत्तम बनेपालीले सञ्चालन गरेको ‘समर फेसन’ नै बन्द गर्नु परेको थियो । मोडलिङका लागि अहिले अनेक उपायहरू छन् । मोडलिङ संसार अहिले धेरै नै वृहत भएको मोडल सुब्बाको अनुभव छ । ‘यो भएको एकदमै राम्रो भयो’ –उनी भन्छिन् । अहिले मोडलहरू चाडै स्थापित हुन सक्ने मञ्जिनाका प्रमुख ताम्राकार बताउँछन् । ‘पहिला एदकमै गाह्रो थियो । अहिले चाहिँ चाँडै मोडल स्थापित हुन सक्छ । व्यवसायिक हुन सक्छ ।’
प्लेटफर्म नै सबैभन्दा महत्वपूर्ण हुने उनीहरूको अनुभव छ । प्लेटफर्म बिना माथि आउन नसकिने मोडल नेहा बजाजको तर्क छ । यही प्लेटफर्मकै कारण बजाजमा अहिले जे काम गरे पनि आत्मविश्वासका साथ गर्न सक्ने खुवी भएको छ । ‘मिस पूर्वाञ्चलमा भिडेर पछुतो छैन, गर्ब लाग्छ ।’ उनी सुनाउँछिन् । यसलाई सकरात्मक रूपमा लिनुपर्ने उनको बुझाइ छ ।