[caption id="attachment_98249" align="alignnone" width="1200"]pataka-dharan-arrested फायल फाेटाे[/caption]

इटहरी/नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै पटाकाको तस्करी बढेको छ । तिहारमा बढी खपत हुने पटाका सुनसरी जिल्लाका खुल्ला सीमाबाट भित्रिने गरेको पाइएको छ ।

बजारमा अहिले पटाका छ्यापछ्याप्ती बिक्रीवितरण भइरहेको छ । पटाका नियन्त्रण गर्ने कार्यमा भने प्रहरी असफल बन्दै आएको छ ।

केही दिनअघि धरानबाट ठूलो परिमाणमा पटाका बरामद भयो । यो घटनासँगै सुनसरीमा खुल्ला सीमाका कारण पटाका भित्रिने गरेको सार्वजनिक भयो ।

भारतसँग सीमा जोडिएको सुनसरीमा अहिले खुलेआम पटाका भित्रिने गरेको छ । सुनसरीको भान्टाबारी र वीरपुरनाकासँगै निकै लामो दूरी खुल्ला सीमा भारतसँग जोडिएको छ ।

यी क्षेत्रबाट खुलेआम पटाका भित्रिने गरेको छ ।

हरिनगरका स्थानीय उलाद्दिन मियाँले सीमाक्षेत्रमा बिचौलियाले सेटिङ नै मिलाएर पटाका भित्रायाउने गरेको बताए ।

प्रहरीसँगको सेटिङमै पटाका भित्रिने गरेको स्थानीयको आरोप रहेको छ । सर्वसाधारणलाई कडाइ गर्ने तर बिचौलियासँग भने सेटिङ गर्ने स्थानीयहरू बताउँछन् ।

मियाँ भन्छन्, ‘सीमाक्षेत्रमा सर्वसाधारणलाई मात्र कडाइ गरिएको छ, बिचौलियाको मनपरी छ ।’ खुला सीमा क्षेत्रबाट सामान ल्याउने बहानामा पटाका ल्याउने गरेको प्रहरीको भनाइ छ ।

त्यसमा पनि विशेषगरी केरा, तरकारीलगायतका कृृषिजन्य वस्तुहरूभित्र राखेर पटाका भित्रिने गरेको सशस्त्र प्रहरीका डिएसपी निर्मलकुमार थापाले बताए ।

उनले भने, ‘तिहारमा झिलिमिली बत्ती लगाउने, पटाका पड्काउने गरिन्छ । पटाका सस्तो मूल्यमा नेपाल भिœयाउने र महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले भित्रिने गरेको छ ।’

नेपाल भित्रिने पटाका रोक्नका लागि प्रहरीले सुरक्षा चेकजाँच बढाएको सुनसरी प्रहरीले बताएको छ ।

विशेषगरी खुल्ला सीमाक्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले सुरक्षा गस्ती बढाएको जनाएको छ ।

त्योसँगै नेपालतर्फ सशस्त्र प्रहरी र भारततर्फ भारतीय सीमा सुरक्षा बलले पनि संयुक्त गस्ती गर्ने गरेको सीमा सुरक्षा बल घुस्की आउट पोष्टका इञ्चार्ज इन्स्पेक्टर विजय चौधरीले जनाए ।

साधा पोसाकका प्रहरीसमेत परिचालन गरी निगरानी बढाइएको सुनसरीका एसपी राजन अधिकारीले बताए ।

अहिले दैनिकजसो सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा पटाकालगायतका विष्फोटक पदार्थ बरामद भइरहेको छ ।

तर, पटाका भित्रिन भने छाडेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि जिल्लामा भित्रिने पटाका नियन्त्रणको लागि सुरक्षा योजना नै बनाएको छ ।

मातहतका सबै इलाका र चौकीलाई पटाकाजन्य सामग्रीको किनबेच तथा ओसार–पसारमा कडाइ गर्न निर्देशन दिएको प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

मुलुकी ऐनमा पटाका ओसार–पसार तथा खरिद बिक्रीमा कैद र जरिवानाको सजाय रहेको छ ।

जसमा ३ वर्षसम्मको कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।