इटहरी/अन्तरजातीय विवाह गरेकै कारण सुनसरीका एक जोडी देशबाटै विस्थापित हुनुपरेको छ ।
सुनसरी हरिनगर गाउँपालिका–६ का मुस्लिम केटा र उराँव केटीबीचको प्रेमविवाहपछि केटीपक्षको धम्की र झुटो मुद्दाका कारण नेपाल छाड्नु परेको हो ।
उनीहरूले चार महिनाअघि विवाह गरेका थिए । हरिनगर गाउँपालिका–६ का २१ वर्षीय सलमान अन्सारी र हरिनगर–७ की २० वर्षीया सुनिता उराँवबीच गत असार २९ गते झापा जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ भएको थियो ।
तर केटी पक्षले प्रहरी र अदालतमा अपहरण गरेको मुद्दा हालेपछि यी जोडी ९ महिनादेखि भारतमा लुकीछिपी बस्दै आएका हुन् ।
केटीपक्षले केटाका बुबा दाउद अन्सारी, काका रहमुद अन्सारी र केटा सलमान विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा अपहरणसम्बन्धी किटानी जाहेरी दिएका छन् ।
सोही मुद्दाका कारण प्रहरीले केटाका बुबालाई पक्राउ गरी कुटपिट गरेको आरोप पनि छ । केटाका बुबा दाउदलाई दुई महिनाअघि जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी केटीलाई उनको परिवार समक्ष बुझाउन दबाव दिएको थियो ।
तर उमेर पुग्नुको साथै राजीखुसी नै विवाह भएको भन्दै दाउदले अडान लिएपछि उनलाई तत्काल स्थानीयको रोहवरमा छाडिएको थियो ।
तर अहिले फेरि केटापक्षका परिवारलाई केटीपक्षका परिवारले घर जलाउने, मार्ने धम्की दिँदै आएको कारण नेपाल छाडेर भारतमा लुकिछिपी बस्दै आएको केटाका काका रहमुद अन्सारीले बताए ।
यता केटीले प्रेमविवाह गरेको बताएकी छन् ।
आफूलाई कसैले पनि अपहरण नगरेको बताउँदै आफ्नो घरजम गर्ने वातावरण बनाइदिन अधिकारकर्मी र सञ्चारकर्मीहरूसँग आग्रह गरिन् ।
ज्यानको सुरक्षाको लागि आफ्नो देश छाडेर भारतमा आफन्तको शरणमा ५ महिनादेखि बस्दै आएको र अब स्वदेश फर्केर शान्तपूर्वक बस्ने इच्छा रहेको सुनिता उराँवले बताइन् । उनले भनिन्, ‘मलाई अपहरण गरिएको होइन । मैले विवाह गरेकी हुँ ।’
यता केटा सलमानले पनि बुबा, काका र आफ्नो नाममा झुटो अपहरण मुद्दा हालेकै कारण विस्थापित हुनुपरेको दाबी गरे । उमेर पुगेको र नेपाल सरकारको कानूनअनुसार विवाह गर्दासमेत ‘प्रहरीको मिलेमतोमा’ मुद्दा लगाएर सम्बन्ध तोड्न खोजेको सलमानको भनाइ छ । प्रेम विवाहमाथि अपहरणको मुद्दा लगाउनु नाजायज रहेको उनको तर्क छ । ‘मलाई अन्याय भयो, मेरो प्रेम र ममाथि न्याय होस्’ –उनले भने ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले तीनजना विरुद्ध शरीर बन्धक तथा अपहरण मुद्दा दर्ता भएको बताए ।
केटीपक्षले केटाका बुबा दाउद, काका रहमुद र केटा सलमान अन्सारी विरुद्ध मुद्दा हालेको र उनीहरूको खोजतलास भइरहेको जानकारी दिए ।
एसपी अधिकारीले समेत उनीहरूको खोजीकार्य भइरहेको बताए ।
प्रेमविवाह केटापक्षले स्वीकार गरे पनि केटीपक्षका परिवारले स्वीकार नगर्दा घटनाले ठूलो रूप लिएको छ । कोर्ट म्यारिज गरेको प्रमाण हुँदासमेत अपहरणको मुद्दा लगाइएको छ ।