भद्रपुर/ मानव तस्करले अवैध बाटो प्रयोग गरी रोजगारीको बहानामा चेलीबेटीलाई बाह्य देश लैजाने क्रम रोकिएको छैन ।
महिलाको क्षेत्रमा काम गर्न लागिपरेर सीमा क्षेत्रका नाकाहरूमा विभिन्न सङ्घ–संस्था तैनाथ भए पनि तस्करले कुनै न कुनै विधि निकालेर चेलीबेटीलाई नेपालबाट बाहिरी देश लगिरहेको भेटिएको छ ।
सोमबार साँझ भद्रपुर नाकाबाट दुईजना महिलालाई दलालले परिवारलाई प्रयोग गर्दै सीमा कटाउन लागेको अवस्थामा सानाहातहरू नेपाल संस्था भद्रपुरले नियन्त्रणमा लिएको छ ।
भद्रपुर–७ का ती महिलाले नानी लिएर भारतको गलगलिया आफन्तकोमा हिँडेको बताएका थिए । उनीहरूमाथि शङ्का लागी चेकजाँच गर्दा ओमन जान लागेको महिलाले जनाएका थिए ।
नानी लिएर पारी जाँदा कसैले शङ्का नगर्ने र सीमा पार भैसकेपछि आफन्तले नै नानी फिर्ता ल्याउने उनीहरूको योजना रहेको स्टेशन म्यानेजर विक्रम वाग्लेले बताए ।
पछिल्लो समय परिवारका सदस्यले नै सीमा पार गराई मानव बेचबिखन गरिरहेको उनको भनाइ छ ।
यस्तैखाले घटनामा नाम सार्वजनिक गर्ने वाग्लेले यो घटनामा भने स्थानीय भएकोले सार्वजनिक नगरिएको बताए ।
‘पीडितको नाम र फोटो प्रकाशन गर्न नहुने भन्ने नै छ फेरि लोकल भएकोले नाम र फोटो नछापौं’ –उनले भने ।