भोजपुर/लोकवार्ता परिषद् नेपालको ८ औं राष्ट्रिय सम्मेलन भोजपुरमा मङ्गलबारबाट शुरू भएको छ ।
केन्द्रीय अध्यक्ष प्राध्यापक डा. प्रेमकुमार खत्रीको अध्यक्षतामा शुरू भएको सम्मेलनमा अमेरिका, भारतको दार्जिलिङ, आसाम, सिलिगुडी, अष्ट्रेलिया, अष्ट्रिया तथा नेपालका प्राज्ञिक, भाषाविद्, संस्कृतिविद् एवम् बौद्धिक व्यक्तित्वहरूको सहभागिता छ ।
सम्मेलनमा ७० भन्दा बढी विभिन्न कार्यपत्र प्रस्तुत गरिने परिषद्का सचिव डा. भक्त राईले जानकारी दिए ।
यसैबीच योगमाया उपन्यासकी लेखिका मदन पुरस्कार विजेता निलम कार्की निहारिकालाई भोजपुर नगरपालिकाले सम्मानित गरेको छ ।
कार्कीलाई नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि कैलाशकुमार आलेले प्रशंसा–पत्रले सम्मानित गरे ।
मेयर आलेले लोक संस्कृति राज्यको सम्पत्ति रहेकाले सरकारले संरक्षण गर्नुपर्ने बताए ।
उनले मुलुकमा रहेका विभिन्न लोक संस्कृति भाषा र परम्पराहरूको संरक्षण गर्दै नयाँ पुुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए ।
परिषद्का केन्द्रीय अध्यक्ष प्रा.डा. खत्रीले लोकसंस्कृति सिक्न, हेर्न र बुझ्नका अभियानका रूपमा परिषद् अगाडि बढिरहेको उल्लेख गरे ।
सो अवसरमा प्राज्ञा नर्वदेश्वरी सत्याललाई भोजपुरवासी तथा परिषद्ले अभिनन्दन गरे ।
परिषद्को सम्मेलनमा किरात राई समुदायको साकेला/साकेन्वा सिली, तामाङ समुदायको तामाङ सेलो, नेवार समुदायको लाखे नाच, ठाकठोके नाच, धिमे नाच, क्षेत्री समुदायको बालन नाच, शेर्पा नाच, सुदूर पश्चिमको गौरा नृत्यलगायत झाँकी प्रदर्शन गरिएको छ ।
सम्मेलनपूर्व र्याली आयोजना गरिएको थियो ।
सम्मेलन कात्तिक १५ गते सम्पन्न हुने परिषद्का स्थानीय आयोजक समितिका संयोजक निमा शेर्पाले जानकारी दिए ।