२०२५ साल जेठ १५ मा पाँचथरको सुभाङमा जन्मिएका उनी हाल मेचीनगर नगरपालिका–१२ सहरेडाँगीमा बसोबास गर्छन् ।
पेशाले उनी नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिसियन हुन् । २०४२ सालमा इलाम–दमक विद्युतीकरण आयोजनामा ज्यालादारी काम शुरु गरेका उनी ०५२ सालमा करारका इलेक्ट्रिसियन भए भने २०६१ सालमा स्थायी ।
जागिरका सिलसिलामा पोखरा, दमौली, लेखनाथ, बुटवल, इलाम हुँदै अहिले गृहजिल्ला झापाको बिर्तामोडमा कार्यरत छन् । विद्युत् प्राधिकरणको एउटा जागिरेभन्दा लेखक, वाद्यवादक र सङ्गीतकर्मीको पहिचान बनाएका छन् मातृकाप्रसाद सङ्ग्रौलाले ।कार्यालय समयमा जिम्मेवारी सम्हाल्नुबाहेक खाली समय उनको साहित्य र सङ्गीतमा बित्छ ।
त्यो पनि नयाँ–नयाँ प्रयोगसहित । उनको अनौठो कला के हो भने उनी नाकले मुरली बजाउँछन्, त्यो पनि अनेक भाकामा ।
त्यसबाहेक मुखले हार्मोनियम बजाउने कला पनि छ उनीसँग । सारङ्गी, सहनाई, एकतारे, मुरली, बाँसुरी, मुर्चुङ्गा, बिनायो, राधाकुटी, ढ्याङ्ग्रोजस्ता लोकबाजा बनाउन पनि माहिर छन् उनी । मुरली, बाँसुरी र मुर्चङ्गा त उनी जहाँ पुग्छन्, सँगै उनको झोलामा हुन्छन् ।
बाजा बजाउने मात्रै होइन, उस्तै खिप्ती गरेर शब्द पनि बुन्छन् । ‘जहाँ पुगे पनि यो झोला र यी बाजा अनि डायरी र डट छुट्दैन’ आफ्ना बाजागाजाले भरिएको झोला देखाउँदै उनले भने, ‘केही शब्द फुर्यो भने टिपिहाल्छु अनि फुर्सदका बेला त्यसमा सङ्गीत भर्छु ।’ झापाको दमकमा भएको एक कार्यक्रममा ब्लाष्टसँगको कुराकानीमा उनले भने, ‘अचेल मलाई कर्मचारीभन्दा पनि नाकले मुरली बजाउने बाजे भनेर चिन्छन् ।’
ब्रम्हणको छोरोले सहनाई बजाएपछि पञ्चैबाजा समूहमा पर्ने सहनाई नेपाली मौलिक बाजामध्येको एक हो । तर अझै पनि यो जातिविशेषको बाजा नै हो भनेर चिन्ने धेरै छन् ।
झनै मातृकाका बाबु धनपति हुर्किएको बेला त यसलाई माथिल्लो जातिका भनिएकाले मुखैमा हाल्नु हुँदैन भन्ने मान्यता थियो ।
तर बाबुको मान्यता र परिवारको आँखा छल्दै उनले त्यही सहनाई पनि बजाउन सिके ।
तर दमाई जातिले बजाउने भनिएको त्यो बाजा बजाएको बुबाले थाहा पाए, घरैमा पस्न दिने थिएनन् । यस्तै पुख्र्र्यौली रूपमा गन्दर्भ जातिले बजाउने सारङ्गी पनि बजाउन सिके ।
तर यो कुरा उनका बुबालाई निको लागेन । ‘पछि त बुबाले सहनाई र सारङ्गी पनि बजाउँछ केटाले भन्ने थाहा पाउनुभएछ’ बुबाको हप्की सम्झँदै उनले भने, ‘नबजा भनेको टेरिनस्, अब म बाँचुन्जेल घरभित्र हुल्न चाहिँ पाउँदैनस् भन्नुभयो बुबाले, मैले पनि बुबाको चित्त दुखाउन चाहिनँ ।’ २०७२ सालमा बुबाको निधनपछि मात्र सहनाई र सारङ्गी घरभित्र हुलेको उनले बताए ।
बुबाको ढ्याङ्ग्रो र आमाको सङ्गीनी पहाडमा चाँपाबोटे सङ्गाैला भनेर चिनिएका थिए उनका बुबा । नाम धनपति भए पनि धनले कहिल्यै साथ दिएन । बाबु ढ्याङ्ग्रो ठोकेर धामी बस्थे ।
सानैदेखि उनलाई बाबुले ढ्याङ्ग्रो ठोकेको र फलाकेको हेर्न खुब रहर लाग्थ्यो । बाबुकै नक्कल गर्दागर्दै उनले पनि उसैगरी ढ्याङ्ग्रो ठटाउन सिके ।
आमा दमन्ता पनि भाका हालेर सङ्गीनी गाउँथिन् । नेपालको पूर्वी क्षेत्रमा विभिन्न शुभकर्महरूमा महिलाहरूले समूह बनाएर भाका हाल्दै सङ्गीनी गाउने चलन अचेल भने नौलो लाग्दै गएको छ, हुर्किएको पुस्तालाई ।
तर उनले आमाले गाउँघरमा सङ्गीनीमा हालेको भाका टपक्कै टिपे । ‘ढ्याङ्ग्रोको सङ्गीत र आमाको सङ्गीनीले मलाई उहिल्यै तानेको थियो क्या’ ख्याउटे ज्यानका मातृकाले भने, ‘त्यही मोह अहिले त मेरो नशा जस्तै भएको छ ।’ उनी अहिले समूह बनाएर गाउँघरमा हुने भजन कीर्तनमा भाका हाल्न पुग्छन् ।
बाजागाजा पनि उसैगरी रौसिएर बनाउने गरेका छन् । निम्ता मान्नै पनि उनलाई भ्याई नभ्याई छ ।
कृति प्रकाशनमा प्रयोग सेण्ड अपसम्मको औपचारिक अध्ययन गरेका उनले सङ्गीतमा मात्रै होइन, साहित्यमा पनि स्वअध्ययन गरेका छन् ।
अध्ययन मात्र गरेका छैनन्, विभिन्न नौला प्रयोग पनि गरेका छन् । उनको प्रयोग के भने हरेक कृतिको जोडी बाँधिदिएका छन् ।
‘कृति त अरुले पनि निकालेका छन्’ आफ्नो प्रयोग र अभ्यासका बारेमा उनले खुलाए, ‘तर, हरेक कृतिको जोडी चाहिँ अरुले जोडिदिएका छन् जस्तो लाग्दैन ।’ उनले प्रमुख सद्भक्ति लोकभजन माला निकालेका छन् ।
त्यसको जोडी उनले आनन्द लहरी नामक सिडी निकाले । यस्तै देवीदर्शन भक्तिभजनको जोडी तन, मन र वचन भक्तिभजन सिडीसँग बाँधिदिएका छन् ।
अमूल्य मानवजीवन छन्द कविता कृतिको जोडीको रूपमा पनि सिडी निकालेका छन्–शुभशान्ति कविता वाचन सिडी ।
पर्व कोसेली गीती सङ्ग्रह निकालेका उनले त्यसको जोडीको रूपमा बिछोडको पीडा अडियो/भिडियो कृति तयार पारेका छन् ।
अझ नौलो कुरा के छ भने उनले आफ्ना हरेक कृतिको जोडी मात्र बाँधिदिएका छैनन्, एक कृतिको त चिना पनि तयार पारेका छन् ।
मिहिनेतका मुठ्ठी, साँचो ढिकुटी नामको उनको निबन्ध कृतिको चिना पनि उनले बजारमा ल्याए ।
आफूमा ज्योतिषीय ज्ञान नभएकाले पुस्तकको चिना भने ज्ञानेन्द्र खरेललाई लेखाएको उनले बताए । उनको निबन्ध सङ्ग्रहको चिना पनि पुस्तकाकारमै छ ।
नाफाको जिन्दगी उनी हाल बाँचिरहेको जिन्दगीलाई नाफाको जिन्दगी भन्छन् ।
तीन पटकसम्म करेण्ट लागेर जीवन पल्लोछेउ पुग्दा पनि जाती भएर जिउन पाएको भन्दै उनले भने, ‘दिन आएको रहेनछ, तीन पटक मरेको ठानिएको मान्छे पनि बाँचेर जीवन जिइरहेको छु ।’
२०४७ सालमा ट्रान्सफर्मर ब्रस्ट हुँदा उनी यति घाइते भए कि परिवारले पनि एकहदसम्म माया मार्यो ।
तर काठमाडौंमा लगेर उपचार गरेर ६ महिनापछि उनी काममा फर्कन सफल भए । उनी सवारीचालक पनि हुन् ।
इलामको किटेनी भन्ने स्थानमा गाडी चलाउँदै गरेका बेला गाडी बल्ड्याङ् खाएर झाडीमा पुग्यो, निकाल्न क्रेन नै चाहियो ।
त्यसबेला पनि २ साता थला परे । त्यसपछि २०४९ सालमा काठमाडौंको ग्वार्कोमा विद्युत् लाइन जोड्ने क्रममा करेण्ट लागेर खेतमा पछारिएका उनी उठ्न एकसाता लाग्यो ।
‘म पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएको मान्छे हुँ’ उनले भने, ‘मलाई त लाग्छ, यो मेरो नाफाको जिन्दगी हो, त्यसैले जति सकिन्छ, राम्रो काम गरेर यो जीवन बिताउँ भन्ने लागेको छ ।’