विराटनगर/ विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ हुने भएको छ ।
लिभिङ विथ आइसिटीले आगामी पुस ६ देखि १० गतेसम्म विराटनगरस्थित जैन भवनमा आयोजना गर्ने भएको हो ।
आयोजक समितिले विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरलाई सूचना प्रविधिको गन्तव्य बनाउने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागेको जानकारी गराए ।
एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कार, उत्पादन र सेवाहरू प्रदर्शनमा रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।
‘आइटी शिक्षा, ज्ञान, आविष्कार र उद्यमशीलतालाई एक्स्पोमा प्रवद्र्धन गरिनेछ’ उनले भने, ‘एक्स्पोमा १ सयभन्दा बढी स्टलहरू रहनेछन् ।’
प्रदेश १ का सूचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा संस्थाहरूसहित काठमाडौंबाट अन्तर्राष्ट्रिय उत्पादन तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहनेछ ।
५० प्रतिशत कमर्सियल आइटी प्रोडक्ट तथा सेवाहरूको स्टल रहनेछन् भने ५० प्रतिशत स्टलहरू आइटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोनसहितका साइन्स एक्जिविसनमा केन्द्रित हुने आयोजकले जनाएको छ ।
कमर्सियल स्टलहरूमा स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रोडक्टहरूसँगै सफ्टवेयर, एप्लिकेशनहरू रहनेछन् ।
नयाँ प्रविधिहरूको विशेष प्रदर्शनी हुने यस एक्स्पोमा स्थानीय आइटी स्टार्टअप तथा उद्यमशीलतालाई प्रवद्र्धन गर्न ५ वटा स्टल निःशुल्क राखिने बताइएको छ ।
काठमाडाैँ सहित प्रदेश १ र २ का २ लाखभन्दा बढीले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।
एक्स्पोमा स्टल तथा स्पोन्सर बुकिङ खुल्ला गरिएको जनाएको छ ।