रङ्गेली/खेतका आली र आँगनमा ढकमक्क फुलेका सयपत्री फुलले तिहार लिएर आउँछ । घर–घरमा सजाइएका सयपत्री फुलको माला र झिलिमिली बत्तीले तिहारलाई उल्लासमय बनाइदिन्छ ।
निधारमा सप्तरङ्गी टीका र गलामा सयपत्री फुलको माला लगाउने चाहना भने फुलको अभावमा महँगो हुने भएको छ ।
मोरङमा पर्याप्त मात्रामा फ”लको उत्पादन नहुँदा सर्वसाधारणले भारतबाट आयात गरिएको महँगो सयपत्री फुलको मालाले तिहार मनाउनु पर्ने भएको छ ।
फुलैफुलको पर्व तिहार र छठ नजिकिँदै गर्दा प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा सयपत्री फुलका लागि भारतको भर पर्नुपर्ने भएको छ ।
व्यावसायिक रूपमा फुलखेती प्रदेश नं. १ को राजधानी विराटनगर र आसपासमा नगन्य हुन्छ ।
व्यावसायिक फुल उत्पादन गर्दै आएका रहमान अन्सारीका अन’सार गतवर्ष आन्तरिक उत्पादनले नपुगेपछि भारतबाट २० लाखभन्दा बढीको फुल आयात गरेको बताए ।
यसपालि पनि ३० लाखको फुल आयात गर्ने तयारी भइरहेको रहमानको भनाइ छ । भारतमा यसवर्ष आएको आँधीका कारण उत्पादन कम भएकोले मुल्य पनि आकाशिने उनको प्रक्षेपण छ ।
मौसमको कारणले पनि तराई क्षेत्रमा फुलको खेती खासै नफस्टाएको उनले बताए । उनका अनुसार तिहारमा आन्तरिक उत्पादनको फुलले आधा पनि पुग्दैन ।
सरकारले फुल उत्पादक किसानहरूलाई अनुदान र प्रोत्साहनमा चासो नदिँँदा यसको खेतीमा खासै आकर्षण छैन ।
जसका कारण फुलका लागि भारतको भर पर्नुपर्ने अवस्था रहेको छ ।
प्रदेश नं.१ मा व्यावसायिक फुलको खेती कति र कुन–कुन जिल्लामा छ भन्ने यकिन तथ्याङ्क कसैसँग छैन ।
प्रदेश १ को कृषि निर्देशनालयसँगसमेत फुलखेती सम्बन्धी यकिन तथ्याङ्क छैन । निर्देशनालयसँग तथ्याङ्क नभए पनि मोरङमा फाट्ट–फुट्ट फुलको व्यावसायिक खेती शुरु भएको कृषि अधिकारीहरूको दाबी छ ।
पहाडी जिल्लामा फुलको व्यावसायिक खेती फस्टाउँदै गए पनि मोरङ जिल्लामा भने व्यक्तिगत प्रयोजनका लागि मात्र सयपत्री खेती गर्ने गरिएको छ ।
पछिल्लो समय मोरङका केही किसानले फुलखेती शुरु गरेको प्रदेश १ कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले बताए ।
फाट्टफुट्ट रूपमा हुने सयपत्री फुलको खेतीले तिहारको माग थेग्न नसक्ने उनी बताउँछन् ।
भारतबाट आयात गर्नकाे विकल्प नभएको उनको पनि तर्क छ ।
सयपत्री फुल नपाएपछि कृत्रिम फुलको प्रयोग गरेर भए पनि सर्वसाधारण गर्जो टार्न बाध्य छन् ।
योसँगै विराटनगरका बजारमा कृत्रिम फुलको व्यवसाय फस्टाउँदै गएको छ । विराटनगरमा कृत्रिम फुलका पसलहरूले राम्रो कारोबार गरेको कृत्रिम फुल व्यवसायी अनिसा अग्रवालले बताइन् ।
सयपत्री फुल एक पटकमात्र प्रयोग गर्न सकिने तर कृत्रिम फुल पुनः प्रयोगमा ल्याउन सकिने उनी बताउँछिन् ।
तिहारमा प्राकृतिक फुलले मात्र तिहार आएको ठान्ने सर्वसाधारणले भने महँगो मुल्य तिरेर भए पनि फुल किन्ने गरेका छन् ।
सयपत्री फुलको सजावट मनपर्ने बताउने सुनसरी हरिनगरकी चिना सरदार थारुले विराटनगरका नर्सरीबाट हुर्केका र फुल्न थालेका सयपत्री फुलका बिरुवा किनेको बताइन् ।
राम्रो लाग्ने भएकाले महँगो भए पनि बगानकै फुल किनेको उनले बताइन् । सुनसरीलगायतका जिल्लाबाट फुल किन्न ग्राहक आउने गरेको विराटनगरका पुष्प व्यावसायीहरू बताउँछन् ।
नेपालमा लगभग १ सय ५३ हेक्टर क्षेत्रफलमा ७ सय व्यावसायीले पुष्पखेती गर्दै आएका छन् ।
वि.सं.२००७ सालबाट शुरु भएको पुष्प व्यवसाय नेपालमा शहरीकरणसँगै फस्टाउँदै गएको छ ।
नेपालमा ४ सय ५० प्रजातिका फुलको उत्पादन हुँदै आएको छ ।
नेपालमा अन्य समय र तिहारमा गरेर ११ करोडको फुल आयात हुँदै आएको छ । सरकारले आधुनिक कृषिको कुरा गर्दै आए पनि फुल खेतीलाई प्रोत्साहन नगर्दा बर्सेनी लाखौं रुपैयाँ बाहिर रहेको छ ।
सरकारले प’ष्पखेतीमा किसानलाई आकर्षित गरी उत्पादन वृद्धिमा जोड दिनु आवश्यक रहेको छ ।