उदयपुर/ उदयपुरमा मालपोत र नापी कार्यालयको चरम लापरबाहीले एक परिवार घरजग्गाविहीन बन्न पुगेका छन् ।
त्रियुगा नगरपालिका–४ बगाहा निवासी मोहन गोलेको घरजग्गा कदमाहा–गाईघाट सडकको नाममा पास भएको पाइएपछि उनी घरवारविहीन बनेका हुन् ।
रगत पसिना सिञ्चेर जोडेको सम्पत्ति थाहै नपाई सडकको नाममा पुगेको छ ।
जिल्ला नापी र मालपोत कार्यालयले मूल सडकभन्दा करिब ६ सय मिटरमाथिको जग्गा सडकको नाममा पारेपछि गोले परिवार बिचल्ली बन्ने अवस्थामा पुगेको छ ।
आशामाया तामाङको नाममा रहेको घरसहितको एक कठ्ठा जमिन थाहै नपाई आजभन्दा १२ वर्षअघि गाईघाट–कदमाहा सडकको नाममा पास भएपछि गोले परिवार सुकुम्बासी भएको हो ।
त्यतिबेला मालपोत र नापीको गम्भीर लापरबाहीले यस्तो समस्या आएको नापी कार्यालय उदयपुरका निमित्त कार्यालय प्रमुख मानपुर चौधरीले बताए ।
सडकको मध्यविन्दुबाट दायाँ–बायाँ २५–२५ मिटरको जग्गा सडकको नाममा लगत कट्टा गर्नुपर्नेमा तत्कालीन नापी र मालपोतका कर्मचारीको लापरबाहीले साविक देउरी गाविस वडा नं. ८.झ कित्ता नं. ५९६ को जग्गा सडकको नाममा पास गरिदिएको हो ।
सडकले कतैबाट पनि नछोएकोे जग्गा सडकको नाममा जान नहुने मालपोत कार्यालय उदयपुरका प्रमुख नवराज खड्का आफै बताउँछन् ।
यस्तो होला भन्ने सोच्दै नसोचेको गोले परिवार त्यतिबेला छाँगाबाट खसे झैं भए, जतिबेला घरजग्गा १२ वर्षअघि नै सडकको नाममा पास भइसकेको थाहा पाए ।
यस कुराले आफूहरू विक्षिप्त बनेको आशामाया तामाङले बताइन् ।
उक्त जग्गा सडकमा पर्दै नपर्ने दाबी छिमेकी नारद थापाले गरेका छन् ।
शिक्षिका श्रीमती र समाजसेवी गोलेको मिहिनेतको कमाइबाट जोडिएको सो घरजग्गा बिक्री गरेर ऋण तिर्ने र अर्कै ठाउँमा सामान्य घर बनाउन भन्दै मालपोत पुग्दा गोलेले यो कुरा थाहा पाएका थिए ।
स्थानीय रमणकुमार थापासँग खरिद गरिएको उक्त घरजग्गा आसपासमा कहीँ, कसैको जग्गा सडकमा परेको छैन ।
लगत कट्टा गर्दा पछिसम्म फरक नपर्ने भन्दै फिल्ड प्रतिवेदन पेश गर्ने तत्कालीन कर्मचारीहरूमा नापी प्रमुख शैलेन्द्रकुमार नेपाली (सुडी), नापी निरीक्षक राजेन्द्रप्रसाद मण्डल, अमिन सत्यनारायण यादव, खरिदार तस्बिरकुमार श्रेष्ठ र कार्यालय सहयोगी भूपबहादुर खत्री रहेका छन् ।
कर्मचारीमध्येका खरिदार श्रेष्ठ स्थानीयमात्र नभई गोलेकै छिमेकी हुन् । आफ्नो मात्रै जग्गा सडकमा पारिनुमा खरिदार श्रेष्ठकै गलत नियत रहेको पीडित मोहन गोलेको आरोप छ ।
घरजग्गा सडकको नाममा लगत कट्टा भएको कार्यालयले जानकारीसमेत नदिएपछि पुरानो लालपुर्जा बोकेर गोले परिवारले नगरपालिकामा वार्षिक सम्पत्ति कर तिर्दै आएका थिए ।
आफ्नो नाममा जग्गा कायम गरिपाऊँ भनेर गत असोज ४ गते निवेदन दिएको गोलेले नापी, मालपोत र सडक धाउँदासमेत सुनुवाइ नगरेको बताए ।
नेपाल तामाङ घेदुङ सङ्घका सङ्घीय अध्यक्षसमेत रहेका गोलेले वडा कार्यालय, नगरपालिका, प्रशासन, अधिकारकर्मी तथा सञ्चारकर्मीलाई समेत गुहारिरहेका छन् ।
गल्ती बाहिरिएपछि नापीले स्थलगत अध्ययन गरी वडाध्यक्षको रोहवरमा सर्जमिन मुचुल्कासमेत तयार पार्दा उक्त जग्गा सडकभन्दा ५ सय ५० मिटरमाथि रहेकाले कहीँ कतैबाट सडकमा नपर्ने देखाएको छ ।
भूमि ऐनअनुसार नापी र मालपोतका कर्मचारीको चरम गल्तीले सडकको नाममा गएको उक्त जग्गा मन्त्रिपरिषद्को निर्णयले मात्र व्यक्तिको नाममा कायम हुने देखिन्छ ।
त्यसका लागि नापी, मालपोत, सडकलगायत सम्बन्धित निकायको पर्याप्त पहलकदमी आवश्यक छ ।
घरजग्गा बिक्रीका लागि ५ लाख बैनासमेत लिएर घरको गर्जो टारिसकेका गोले यतिबेला समस्यामा परेका छन् ।
उनको व्यवहारिक जीवन र नियमित कार्यहरू अस्त–व्यस्त बनेको छ । त्योभन्दा पनि बढी चिन्ता र पीडा अब घरजग्गा आफ्नो नाममा हुने हो कि नहुने भन्नेमा छ ।
आफ्नै घरदेखि लखेटिने अवस्था आउन लागेपछि उनी चिन्तित बनेका छन् ।