दमक/ घरको चुलोचौकाको काम सकेर कमलादेवी निरौला अचार उद्योगमा काम गर्न आउँछिन् ।

यो अचार उद्योग शुरु भएसँगै उनी यस उद्योगको कर्मचारी भएर काम गरिरहेकी छन् । उनलाई यस कम्पनीमा बन्ने सबै प्रकारका अचार बनाउन आउँछ ।

यही अचार उद्योगबाट पाउने पारिश्रमिकले उनले आफ्नो घरव्यवहार धानेकी छन् । सावाँ अक्षर मात्र चिनेकी निरौला यहाँ काम गर्न थालेपछि प्रष्टसँग आफ्नो नाम लेख्नसमेत भएकी छन् ।

अचारका बट्टामा लगाउने लेबलहरू अब आफै चेकजाँचसमेत गर्न सक्ने भएकी छन् । यो अचार उद्योगबाट उनले मासिक रूपमा १० हजार रुँपैयाँ पारिश्रमिक पाउँछिन् ।

यही पारिश्रमिकले उनले आफ्नो घरव्यवहार चलाएकी छन् । ३ छोराछोरीमध्ये एकजना छोरीलाई डोलीमा चढाएर पराइ घर पठाइसकिन् ।

बाँकी दुई छोराछोरीको पढाइखर्चसहित अन्य घरायसी खर्च आफ्नै कमाइले पूरा गर्न सकेकोमा उनी मख्ख छिन् ।

उनका श्रीमान् दमक बजारमै किराना पसल चलाउँछिन् । उक्त पसलबाट हुने आम्दानीलाई बचत गरेर केही अचल सम्पत्ति जोड्ने निरौला दम्पत्तिको योजना छ ।

कञ्चन अचार उद्योगमा निरौला जस्तै स्थायी रूपमा काम गर्ने अन्य तीनजना कर्मचारी छन् । चार जना कर्मचारीलाई औषतमा ४० हजार तलब उद्योगले छुट्याएको छ ।

त्यसो त यहाँ अस्थायी रूपमा काम गर्ने कर्मचारी दर्जनभन्दा बढी छन् । जो दैनिक ज्यालादारीमा काम गर्छन् ।

दमक–८ की सङ्गीता उप्रेतीका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका छन् । तीन वर्षदेखि उनका श्रीमान् मलेसियामा श्रम गरिरहेका छन् ।

तर सङ्गीता श्रीमान्ले महिनैपच्छिे पठाउने पैसालाई घरखर्च गर्न चाहन्नन् । किनकी उनले तीन दिने अचार बनाउने तालिम सिकेकी छन् ।

त्यो तालिमले उनलाई पनि अचार बनाएर बजारमा बेच्नसक्ने आत्मविश्वास बढाएको छ । र त्यही आत्मविश्वासलाई अझ तिख्खर पार्न यतिबेला उनी कञ्चन अचार उद्योगमा काम गर्छिन् ।

थप काम सिकिने र अलि–अलि भए पनि पारिश्रमिक पनि पाइने भएपछि सङ्गीता मख्ख पर्र्दै काम गरिरहेकी छन् ।

यहाँ काम गर्न आउनेलाई उद्योगले चिया र खाजासहित दैनिक ३ सय रुपैयाँ ज्याला दिएको छ ।

घरमा बिना काममा टिभी हेरेर बस्नुभन्दा साथीहरूसँग बसेर गफ गर्दै काम गर्दा आफ्नो क्षमता पनि अभिवृद्धि हुने र आम्दानी पनि हुने भएकोले सङ्गीता जस्तै दर्जनभन्दा बढी महिला अचार बनाउने काम गरिरहेका छन् ।

चुनौतीका बीच उद्योग स्थापना हेमकुमारी भट्टराई कोइराला पेशाले सामुदायिक विद्यालयकी शिक्षिका थिइन् । पारिवारिक कारणले उनले उक्त पेशाबाट टाढा रहनुपर्यो अर्थात् छोड्नु पर्यो ।

शिक्षिका पेशा छोडेपछि उनी दमकको एक सहकारी संस्थामा आबद्ध भइन् । संस्थाले आफ्नो सदस्यको वृत्तिविकासका लागि विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने भयो ।

त्यही सिलसिलामा उनी आबद्ध संस्था कञ्चनजङ्घा बहुउद्धेश्यीय सहकारी संस्थाले महिलाको सीप तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

सो निर्णयमा संस्थाले आफ्ना महिला सदस्यलाई अचार बनाउने सीप सिकाउने निर्णय गर्यो । सोही निर्णय बमोजिम हेमकुमारीले पनि ७ दिन अचार बनाउन सिकिन् ।

संस्थाले दमक उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा ३० जना महिलाको सीप विकास गराउनका लागि भन्दै अचार बनाउने तालिम सञ्चालन गरेको थियो ।

तालिममा सहभागी सबै महिला निकै उत्साहपूर्वक सहभागी भए । तर तालिमपछि व्यवसायिक रूपमा अचार बनाएर बेच्न भने कोही पनि अग्रसर बनेनन् ।

हेमकुमारीलाई आफूले तालिमको आयोजना गरेको संस्थाको सञ्चालक समितिको जिम्मेवार पदाधिकारी र महिला उपसमितिको संयोजकसमेत रहेकोले तालिमको सार्थकता देखाउनु पनि थियो ।

संस्थाका केही महिला भेला पारेर ७ दिनसम्म एउटा हलमा राखेर संस्थाको खर्च त सकियो सकियो, त्यहाँ सिकेको सीपको सदुपयोग कुनै पनि सहभागीले गरेनन् ।

त्यसपछि के गर्ने त भन्ने अन्यौलताका बीच उनी आफैले अचार उद्योेग खोलेर अरु महिलाका लागि म आफै उदाहरण बन्ने सङ्कल्प गरिन् र त्यही सङ्कल्पलाई पूरा गराउन सहयोेग मागिन् आफ्नै बहिनी कविता भट्टराई सापकोटासँग ।

बहिनी पनि दिदीको कुरामा राजी भएपछि दमकमा जन्मियो कञ्चन अचार उद्योग । २०६६ सालमा अढाई लाखको लगानीमा शुरु भएको यो अचार उद्योग अहिले १६ लाख लगानीको भएको छ ।

सम्भावना र अवसर दिदी हेमकुमारी र बहिनी कविता दुवैजना दिनमा भने फुर्सदिला तर बिहान बेलुका घरकै चुलोचौको र छोराछोरीको स्याहारसुसार गर्दै उनीहरूको समय बित्थ्यो ।

दिदी हेमकुमारी त दिनमा केही सङ्घ–संस्थामा आबद्ध भएकोले जसोतसो दिन कटेकै थियो । तर बहिनी कविताको दिन घरैमा बसेर बित्ने गरेको थियो ।

दिदीले साझेदारीमा अचार उद्योग खोल्न राखेको प्रस्ताव बहिनी कविताले सहजै स्वीकार गर्नाले अहिले दिदीबहिनीको मात्र हैन, दर्जनभन्दा बढी दिदीबहिनीको समय बिताउने मेलो बन्नुका साथै आयआर्जनसमेत वृद्धि भएको छ ।

शुरुका दिनमा आफै लागिपरेर काम गरेको र केही समयपछि एक जना सहयोगी राखेको बहिनी कविताले बताइन् ।

कञ्चन अचार उद्योगको व्यवस्थापकसमेत रहेकी कविता त्यसबेला मासिक २० देखि ३० हजारसम्मको मात्र कारोबार हुने अचार अहिले बढेर १ लाखभन्दा बढी नै हुन थालेको बताउँछिन् ।

शुरुमा हातैले अचार मोलेर राख्ने गरेको भए पनि अहिले अचार मोल्ने मेसिन राखिएको छ । दमक नगरपालिकाको साझेदारीमा यो अचार मोल्ने मेसिन राखिएको हो ।

कम्पनीकी व्यवस्थापक कविताका अनुसार ५४ हजार जम्मा लागतको उक्त आचार मोल्ने मेसिन उद्योगको २५ हजार र बाँकी नगरपालिकाको अनुदानमा आएको होे ।

नगरपालिकाले दिएको उक्त मेसिनले अहिले हातले अचार मोलिरहनु नपर्ने र अचारमा आवश्यक सबै मसला सबैतिर घोलिेने भएकोले अहिले यो मेसिनको उपयोगिता बढेको छ ।

पहिला हातले मोल्दा दैनिक ४०–५० बट्टा मात्र अचार प्याकिङ गराउन सकिएकोमा अहिले एक सयभन्दा बढी बट्टा अचार प्याक गर्न सकिएको उनले सुनाइन् ।

उत्पादन पनि बढेको र माग पनि बढेको कविताको भनाइ छ । यहाँ उत्पादित अचार पूर्वमा काँकडभिट्टासम्म पुग्ने गरेको र पश्चिममा विराटनगर र धरानसम्म पुग्ने गरेको छ ।

विभिन्न भारतीय अचार उद्योगले विभिन्न केमिकल मिसाएका अचार बजारमा बेचेको देख्दा त्यसलाई प्रतिस्थापन गर्नका लागि पनि उद्योगमा थप लगानी बढाइएको हो ।

‘दमकको अचारलाई पूर्वका विभिन्न शहरहरूमा पुर्याइरहेका छौं । अझै देशभरि पुर्याउने लक्ष्य छ’ –हेमकुमारी र कविताले भने ।

दमक नगरपालिकाले उपमेयर स्वरोजगार कार्यक्रम अन्तर्गत हरेक वडालाई एक–एक पहिचान बनाएर छुट्याइदिएको छ ।

जसअन्तर्गत दमकको वडा नं. ८ अचारको हब बनाउने सोच नगरपालिकाको रहेको छ ।

त्यसैले दमक–८ मा उत्पादन भएको अचारलाई बजारीकरण र अझ गुणस्तरीय उत्पादनमा नगरपालिकाले साथ सहयोग गर्ने दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् ।