भद्रपुर/ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले कडाइका साथ सीमाक्षेत्रमा प्रहरी परिचालन गरे पनि कारोबारीले निकासी पैठारीलाई जारी राखेका छन् ।
दैनिक रूपमा दुवै प्रहरी सङ्गठनले एक लाखभन्दा माथिको राजस्व सङ्कलन गरिरहे पनि तस्करी भने नियन्त्रण गर्न सकेका छैनन् । चालु आर्थिक वर्ष यता ती सङ्गठनले भन्सारबाट कायम भएको राजस्वमात्र अनुमानित डेढ करोड पुर्याइसकेका छन् ।
प्रहरीले सामान बरामद गरिरहे पनि कारोबारीले आफ्नो पेशालाई निरन्तरता दिएको राजस्वले पुष्टि भएको छ ।
दिपावली तथा छठ पर्वलाई लक्षित गरी भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको सामग्री दुवै प्रहरी सङ्गठनले छुट्टा–छुट्टै स्थानबाट बरामद गरेको जनाएका छन् ।
यसै क्रममा वडा प्रहरी कार्यालय भद्रपुरले मङ्गलबार बिहान ७७ हजार ८ सय ६३ रुपैयाँ मूल्य बराबरको सामानसहित तीन जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
भद्रपुर–५ स्थित देवीबस्तीबाट प्रहरीले कपडा, हरियो मटर, श्रृङ्गारका सामान बरामद गरेको वडाका इन्सपेक्टर प्रकाश जबेगूले बताए ।
सामानसँगै भारत डाजीजोतका २८ वर्षीय मोहमद भुट्टु, वर्ष २५ का मुजाहित मोहमद र १७ वर्षीय मोहमद समीरलाई पक्राउ गरिएको इन्सपेक्टर जबेगूले बताए ।
जुटको बोरामा पोको पारेर ल्याइरहेको अवस्थामा सामानसहित पक्राउ गरिएको उनको भनाइ छ । मानिस र बरामद सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।
यता सोमबार राति जिल्ला प्रहरीले मेची नगरपालिका–६ बाट निकासी तथा पैठारी गरेको १ लाख ४५ हजार ९ सय ८० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको जिल्लाका इन्सपेक्टर कुलप्रसाद चौधरीले बताए ।
बरामद सामग्रीमा सुख्खा सुपाडी, हरियो मटर, सुर्तीजन्य पदार्थ र कपडा रहेको इन्सपेक्टर चौधरीले जानकारी दिए ।
त्यस्तै मङ्गलबार राति सशस्त्र प्रहरीबाट सादा पोसाकमा खटिएका प्रहरीले मेचीनगरपालिकास्थित ज्यामिरगढीबाट नौ वटा पोकामा रहेको अनुमानित पाँच लाख मूल्य बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल गण–२ झापाले जनाएको छ ।
नेपाल भारतको सीमामा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले कपडालाई नियन्त्रणमा लिएको डीएसपी आजिस ओलीले बताए ।
प्रहरीलाई देख्नेबित्तिकै कारोबारी भागेकाले मानिस पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।
ठूलो परिमाणमा कपडासँगै बारुद्धजन्य सामग्री पनि रहेकाले बुधबार जिल्ला प्रशासन, प्रहरी, पत्रकारलगायतको उपस्थितिमा सार्वजनिक गरिने भएकाले विवरण सङ्कलन जारी रहेको ओलीले जानकारी दिए ।
झापामा गत वर्षको तुलनामाभन्दा यो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएकाले तस्करी नियन्त्रण भइरहेको उनले दाबी गरे । सिमित स्रोत साधन र सबैको सहयोगमा तस्करी नियन्त्रण भइरहेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले तस्करी नियन्त्रण भइरहेको दाबी गरेका छन् । तस्करीमा कुनै सम्झौता नहुने उनले बताए । तस्करले सामान छिराउने प्रयास गरिरहे पनि त्यो असफल बन्दै गएको उनले जनाए ।