विराटनगर /मोरङको रतुवामाई नगरपालिका–५ की २५ वर्षीय जुना खड्का बुढाथोकीलाई आफन्तले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।

सामान्य घरायसी विवादमा श्रीमान् तेजबहादुरले उकासेर जेठाजु सुबोध, आमाजु दिदी भगवती र भजित विदुर खड्काले कुटपिट गर्दा बुढाथोकी घाइते भएकी हुन् ।

कुटपिटबाट उनको अनुहार, टाउको हातमा गहिरो चोट लागेको छ । उनीहरूले जुनालाई चक्कु समेत प्रहार गरेका छन् । घाइते भएकी जुनाको विराटनगरस्थित लाइफगार्ड अस्पतालमा थप उपचार भइरहेको दाजु मोहन बुढाथोकीले जानकारी दिए ।

घरमा विवाद हुँदा जेठाजु सुबोध र जेठानी भगवती भतिज विदुरलाई कुटपिट गर्न लगाएको दाजु मोहनले बताए । छोरीसँग कोठामा बसिरहेका बेला आफूमाथि कुटपिट भएको उनले बताइन् । उनीमाथि कुटपिट हुँदा उनका श्रीमान् तेजबहादुर घाँस काट्न बाहिर गएका थिए । इलाका प्रहरी कार्यालय सिजुवाले कुटपिट गरेको आरोपमा भगवती र सुबोधलाई नियन्त्रणमा लिएको छ । विदुर भने फरार छन् । प्रहरीले उनको पनि खोजी गर्दै आएको छ ।

प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले सामान्य घरायसी विवाद हुँदा कुटपिट भएको बताए । प्रहरीले यसअघि पनि खड्का परिवारमा भएको झगडामा मेलमिलाप गराएको थियो । उनले पक्राउ परेकाहरूसँग सोधपुछ गरिरहेको जानकारी दिए ।