इनरुवा/इनरुवा अस्पतालबाट पीटीए मेसिन गायब गरेको भन्दै आफूमाथि लगाइको आरोप झुटो भएको डाक्टर प्रविद गजुरेलले जिकिर गरेका छन् ।

डाक्टर गजुरेलले आफूमाथि सुनियोजित रूपमा बदनाम गर्ने प्रयास भएको बताएका हुन् ।

नाक, कान, घाँटीको उपचारमा प्रयोग गर्ने उपकरण लिएर फरार भएको भनी इनरुवा अस्पतालका पदाधिकारीसहित स्थानीय र सरोकावालाहरूले डा. गजुरेलमाथि आरोप लगाएका थिए ।

काम विशेषले इनरुवा बाहिर भएकाले वास्तविकता बाहिर ल्याउन ढिलाइ भएको गजुरेलले बुधवार इनरुवा अस्पताल पुगेर क्वाटरमा रहेको सो मेसिन मेसु शाक्यको रोहवरमा बुधबार अस्पताल प्रशासनसमक्ष जिम्मा लगाएका छन् ।

प्रमुख जिल्ला अधिकारी, इनरुवा नगरपालिकाका मेयरसहितको उपस्थितिमा अस्पतालमा बसेको आकस्मिक बैठकले आफ्नो म्याद थप गर्ने निर्णय गरिसकेको अवस्थामा डाक्टर फरार भनिनु गलत भएको गजुरेलको भनाइ छ ।

बैठकले म्याद थप गर्ने निर्णय गरेको भए पनि आफ्नो तलब स्केलको विषय स्पष्ट नभएकाले इनरुवा अस्पतालमा सेवा दिइरहन नसकेको जनाउँदै गजुरेलले आफू बाहिर जाँदा सामानको सुरक्षा र जिम्मेबारी लिने कोही नभएपछि आफ्नै क्वाटरमा छाडेर हिँडेको स्पष्ट पारेका छन् ।