पाँचथर/मृत्यु भइसकेकाको बैङ्क खातामा जम्मा भएको सामाजिक सुरक्षा भत्ताबापत्को रकम व्यक्तिगत खाता नम्बरमा रकमान्तर गर्न लगाएर विवादमा तानिएका फिदिम नगरपालिकाका लेखा अधिकृत पेम्बा शेर्पामाथि अनुसन्धान शुरु भएको छ ।

छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ ।

अख्तियारको पत्रअनुसार नगरपालिकाबाट सामाजिक सुरक्षा वितरण सम्बन्धी कागज–पत्र अनुसन्धानका लागि बुधबार ल्याइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । अब छानबिनको प्रक्रिया अघि बढाइने प्रजिअ अधिकारीको भनाइ छ ।

उक्त विषयमा फिदिम नगर कार्यपालिकाले पनि प्रवक्ता तथा वडा नम्बर तीनका वडा अध्यक्ष नरेन्द्र गुरुङको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

उक्त छानबिन समितिले आगामी आइतबारसम्ममा प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही अघि बढाउने मेयर ओनाहाङ नेम्बाङले बताए ।

जिम्मेवारी पाएकै दिनदेखि छानबिनको काम शुरु गरिएको संयोजक गुरुङको भनाइ छ ।

लेखा अधिकृत शेर्पाले मृत्यु भइसकेका फिदिम नगरपालिका–४ का भीमबहादुर लाओती, कौशल्यादेवी नेपाली र भगिरत्ना राईको नाममा भुलवस मामाजिक सुरक्षा भत्ताबापत्को रकम जम्मा हुन पुगेको भन्दै माछापुच्छ्रे बैङ्कको फिदिम शाखालाई नगरपालिकाको लेटर प्याड प्रयोग गरी आफ्नो व्यक्तिगत खाता नम्बरमा जम्मा गर्न भनी पत्र लेखेका थिए ।

शेर्पाले बैङ्कलाई पठाएको पत्र नेपाल पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले सामाजिक सञ्जाल फेसबुकमार्फत बाहिर ल्याएपछि शेर्पा छानबिनको दायरामा तानिएका हुन् ।