वराहक्षेत्र/वराहक्षेत्रको चतरामा रहेको नहरको बालुवा छान्ने ड्रेजर मेसिन बिग्रिएको डेढ वर्षसम्म मर्मत नहुँदासमेत मुख्य सरोकारवाला आयोजना मौन रहेको सुमोसियो चतरा इकाईले बताएको छ ।
चतरा नहरको सेटिङ बेसिनमा रहेको अरुण र अरुण ड्रेजर मेसिनमध्ये अरुणको हाइड्रोलिक कपलिङ बिग्रिएर डेढ वर्षअघि विराटनगरका डिइ सुपेन्द्र खत्री र रमेश अधिकारीले बनाउन लगेको चतराका इञ्जिनियर श्रीकृष्ण साहले बताए ।
तर अहिलेसम्म कपलिङ आउन सकेको छैन । जसले गर्दा अरुण ड्रेजर सञ्चालन हुन नसकेको उनी बताउँछन् । चतरा सेटिङ बेसिनमा वर्षको पाँच महिना जेठ, असार, साउन, भदौ र असोजमा ४ लाख घनमिटर बालुवा आउने गर्दछ ।
अरुण र बरुणले २–२ लाखको दरले बालुवा फ्याँक्ने गरेको छ तर बरुण एक्लैले काम गर्नुपर्दा त्यसमा भार थपिएकोले बालुवा छान्ने काम प्रभावित भएको छ । वार्षिक करोडौं बजेट आउने गरे पनि ड्रेजरको अवस्था ठीक नभएको साहले बताए ।
‘चौबीस घण्टा पानीमुनि रहने ११ हजार भोल्ट भएको ड्रेजरको एउटा मेसिन चलाउँदा अर्को चलिदिन्छ, यसले गर्दा ठूलो दुर्घटना हुने सम्भावना पनि छ’–उनले भने ।
यसमा लापरबाही हुनु हुँदैन थोरै रकमले हुने काम बाहिरको मेकानिकलाई लगाएर पहिले करोडौं रकम सक्ने काम हुन्थ्यो तर आफूले स्थानीय कर्मचारीको सहयोगमा यो वर्षको १ करोड ४० लाखको बजेटबाट १६ लाखमा बरुण ड्रेजरको मर्मतको काम गरेको उनले बताए ।
ड्रेजरको बारेमा आयोजना प्रमुख हरेराम श्रेष्ठ र डिभिजन इञ्जिनियर सुपेन्द्र खत्रीलाई पटक–पटक फोन गरेर बुझ्न खोज्दा उनीहरूको फोन उठेन ।