पाँचथर (रासस)/ पाँचथर जिल्लाको नेपाल–भारत सीमाक्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर–पुर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुगमन गरिएको हो ।
अनुगमनमा सांसद् वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाशचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुखलगायतको टोलीले अनुगमन गरेको हो ।
सीमाक्षेत्रमा हुने अवैध र आपराधिक कार्यलाई न्युनीकरण गर्न अनुगमन गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जनाए ।
अनुगमन टोली हालै सीमाक्षेत्र पुगेर अनुगमन गरिएको सांसद् नेम्बाङले जानकारी दिएका छन् । नेपाल–भारत सीमाक्षेत्र ४७ नं. सीमा स्तम्भआसपास अनुगमन गरिएको हो ।
सीमाक्षेत्रमा सिक्किम प्रदेशका एसआरपी र नेपालका अनुगमन टोलीबीच बैठक बसी विभिन्न सहमति भएको नेम्बाङले जानकारी दिए । बैठकमा पाँचथरतर्फ सुरक्षापोष्ट राख्न चित्रे, वासुम डाँडालगायत सुविधायुक्त दुई ठाउँ छनौट गर्न गाउँपालिका अध्यक्षलाई जिम्मा दिइएको जिसस प्रमुख सापकोटाले बताए ।
अनुगमनका क्रममा पाँचथरका अनुगमन टोली र सिक्किम प्रदेश सुरक्षाप्रमुख लक्ष्मण गुरुङसहितको सुरक्षाबीच बैठक बसेको थियो । बैठकमा सिक्किम र पाँचथर जोड्ने सिमानाका चिवाभञ्जाङसम्म सडक निर्माण भइरहेका बारे सिक्किम सुरक्षाप्रमुख गुरुङले जनाएका थिए ।
पाँचथरका तर्फबाट निकट भविष्यमा नै नाका खोल्न दुवै देशमा पहल गरिने सांसद् नेम्बाङले बताए ।
अनुगमनपछि सांसद् नेम्बाङले सांसद्को स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय तहसँग सहकार्य गरी पर्यटक अतिथि भवनको सम्भाव्यता अवलोकन गर्ने बताए ।
पाँचथर, ताप्लेजुङ, संयुक्त रूपमा सङ्घ र प्रदेश सांसद्को उपस्थितिमा भारत र नेपाल दुवै देशलाई फाइदा हुने गरी नाका खोल्नेसमेत पहल श’रु भएको उनले बताए ।
सीमाक्षेत्रमा लागुऔषध, जालीनोट, भन्सार छली, मानव बेचबिखन, वन तथा वन्यजन्तु, हात-हतियार बिक्री–वितरणलगायत आपराधिक गतिविधि बढ्नसक्ने भन्दै सुरक्षा सतर्कता बढाउने पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए ।