दमक/ झापाको शिवसतासी नगरपालिका–११ की कृषक देवी दाहालले डेढ सय घार मौरी लिएर पश्चिम दाङको चरण क्षेत्र जाने तयारीमा छिन् ।
‘यतिबेला दाङमा तोरी फुलेको छ । त्यही तोरीमा मौरी चराउन दाङ लैजान लागिएको हो ।’ उनले भनिन् ।
देवीमात्र होइन यहाँ मौरी पालन गर्ने लगभग एक सय ७४ जना महिला आफ्ना मौरीका घार लिएर दाङको घोराही चरण क्षेत्रमा लाने तयारीमा छन् ।
पुर्वमा चरन क्षेत्र नभएकाले मौरीले भनेजस्तो मह उत्पादन गर्न सक्दैनन् । मौरीले तोरीको फुल सबैभन्दा बढी मनपराउने गर्दछन् । झापाका मौरी पालक कृषक हरेक वर्ष मौरी चराउन डेढ महिनासम्म चरनमा लाने गरेका छन् ।
यसरी चरन क्षेत्रमा लैजाँदा समेत स्थानीय सामुदायिक वन, विभिन्न क्लब, घरवालादेखि तोरीको खेती गर्नेलाई समेत रकम बुझाउनु पर्ने बाध्यता रहेको गुनासो महिलाहरूको छ ।
जिल्लाको शिवसतासी नगरपालिका–११ स्थित सतासी महिला मौरी पालन सहकारी सस्थामा आबद्ध १ सय ७४ जना महिला व्यवसायिक मौरी पालन खेती गरिरहेका छन् ।
चुला–चौकामा व्यस्त हुने महिलाहरूले यतिबेला राम्रो आम्दानी लिन थालेका छन् । मौरी पालनमा होमिएका महिलाहरू अधिकांशको लेखपढ कम छ । तर, काममा प्रतिबद्ध छन् । किसानबाट सहकारीमा वार्षिक २५ हजार किलो मह उत्पादन गर्दै आएका छन् ।
आगामी वर्ष यो मात्रा ५० हजार केजी पुर्याउने लक्ष्य रहेको सहकारीकी अध्यक्ष केशमाया थापाले बताइन् ।
‘आम्दानी नभएपछि पैसाका कारण श्रीमान श्रीमतीबीचमा दैनिक झगडासमेत हुन थाल्यो, झण्डैझण्डै छोडपत्र गर्ने अवस्थासम्म पुगियो ।’ सहकारीकी व्यवस्थापक समेत रहेकी देवी दाहालको आफ्नो विगत सुनाइन् ।
शुरुको अवस्थामा समुहमा आबद्ध भएर बचत गर्दै जाँँदा महिलाले सामुहिक रुपमा नै तालिम लिएर मौरी पालन गर्न थाले । उनले गत वर्ष डेढ सय घारबाट एक वर्षमा ३ हजार ६ सय ५१ किलो मह उत्पादन गर्न सफल भएको बताइन् ।
यसबाट वार्षिक १६ लाख ६४ हजारसम्म आम्दानी भएको थियो । यो वर्ष घार बढाएर २५ लाख आम्दानी गर्ने लक्ष्य रहेको उनले सुनाइन् । सहकारीकी उपाध्यक्ष धनमाया थापाको अन’भव पनि उस्तै छ ।
‘शुरुमा कसैले पनि सहयोग गरेनन्, कत्रोकत्रो खेती गर्दा गाईभैंसी पाल्दा नभएको यस्तो जाबो झिँगा पालेर पनि कहीँ उँभो लागिन्छ भने ।’ उनले मौरी पालन गर्ने सोच बनाउँदा घर तथा छिमेकले यसरी नै उडाएको बताइन् ।
तर निरन्तर मौरी पालन गर्दा अहिले ८० घार मौरी पाल्न सफल भएको बताउँछिन् । मौरी पालनबाट गत वर्षमात्र १९ सय केजी महबाट १३ लाख रुपैयाँ आम्दानी भएको उनले बताइन् ।
उनीहरूजस्तै राधा पठक र फुलकुमारी चौधरी समेत मौरी पालनमा सफल भएका छन् । सबैले आफ्नै निजी तवरबाट मौरी पालन गरिए पनि सरकारले चरन क्षेत्रमा सहजता बनाउन तथा मौरीपालक किसानलाई प्राविधिक तालिम दिनु पर्ने बताउँछन् ।