धरान/ सरकारले बिहीबार देश भरका १०० वटा पर्यटकीय गन्तव्यहरुको सूचि सार्वजनिक गरेको छ । त्यो सूचिमा धरान पनि परेको छ । धरान पर्यटकीय हव पनि हो । यही बाटो भएर पूर्वका प्रसिद्ध पर्यटकीय गन्तव्यहरु पुगिन्छ । तर पर्यटकीय गन्तव्यहरुको प्रवेशद्वारको सडक नै गरिवको फाटेको टोपी जस्तो बनेको छ ।
धरानको बरगाछीदेखि जिरोपोईन्टसम्म करिव ५ किमी सडक साना ठूला खाल्डाले यातायातमा असहज मात्र होईन धरानको सोन्दर्यलाई नै कुरुप पारि दिएको छ । बीच सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । सवारी साधन समेतमा टुटफुट हुने गरेका कारण सवारी धनीले मर्मतसम्भारमा हजारौ रुपैया खर्चिनुपर्ने अवस्था रहेको छ ।
धरानका कालोपत्रे भएका अधिकांश स्थानमा जताततै खाल्डाखुल्डी भएपछि तत्कालीन नगरप्रमुख स्व. तारा सुब्बाको नेतृत्वमा सडक डिभिजन कार्यालयलाई भनेर खाल्डाखुल्डी पुर्न १ करोड बजेट निकासा गरेर खाल्डाखुल्डी पुरेकाे पनि ६ मिहनामा उस्तै भएको छ ।
मु्ख्य सडकमात्र हैन धरानका अन्य शाखा बाटोहरुको समेत अवस्था उस्तै छ । सडकमा परेका खाल्डाखुल्डी कै कारण दैनिकजसो दुर्घटना हुने गरेको सडक छेउमा व्यवसाय सञ्चालन गरेर बसेका सर्वसाधारणले बताउने गरेका छन् ।
खल्डाखुल्डीकै कारण सवारी चालक त अझ जोखिमपूर्ण सवारी साधन चलाइरहेका छन् । उनीहरुकाे दुर्घटना हुन जोखिमसंंगै सवारी साधन टुटफुट बढी हुने गरेको चालक दिपक बानिया बताउछन् ।
सडकका खाल्डाखुल्डीकै कारण ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ । खाल्डाखुल्डीकै कारण दिनप्रतिदिन ट्राफिक व्यवस्थापनमा कठिनाई हुदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख होमराज दाहाल बताउछन ।
मुख्य राजमार्गबाहेक धरानका अन्य सडक स्थानीय सरकारले मर्मत तथा सम्भार गर्ने गर्दछ । तर कोशी राजमार्गमा पर्ने मुख्य हाइवे सडक भने सडक विभागले हेर्ने गरेको छ । मुख्य राजमार्गमा नै जताततै खाल्डाखुल्डी भएपछि मर्मत सम्भारका लागि सडक डिभिजन कार्यालयमा पटक पटक धाउदा समेत केही नभएको धरान १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले बताए ।
धरानमा कुल सडकको १ हजार ४ सय ५३ मी सडक कालो पत्रे रहेको छ भने ७ हजार ७ सय ५० मि सडकको पुन निर्माण गरेको छ । तर बनाइएका सडक तथा पुननिर्माण गरिएका सडक गुणस्तरीय नहुदा एक बर्ष नपुग्दै विग्रिने गरेका छन् । यसरी खाल्डाखुल्डा पुर्ने तथा मर्मत सम्भारमा करोडौ बजेट निकासा गरे पनि यसरी बनाइएका सडक दीर्घकालीन हुन नकसेको पाइएको छ । त्यसैले विग्रिएको सडक पुर्ने नाममा करोडौ रुपैया खर्च गर्नु भन्दा दीर्घकालीन योजना बनाएर निर्माण गर्दा प्रभावकारी हुने देखिन्छ । यस तर्फ सम्बन्धित पक्ष गम्भीर हुन जरुरी छ ।
व्यापक जनगुनासो आए पछि धरान उपमहानगरपालिकाकी कार्यवहाक नगरप्रमुख मञ्जु भण्डारीले सडक डिभिजन कार्यालयलाई सडक मर्मत गर्न निर्देशन दिएकी थिईन । सडक डिभिजन कार्यालय विराटनगरले केही स्थानमा दशै अघि खाल्डा पुरेर आखाँमा छारो हाल्ने काम मात्र गरेको थियो ।