बिर्तामोड /  झापाको बुद्धशान्ति २ का बालकुमार दरनालले तीनबर्ष अघि धान रोप्दै आएको जमिनमा यसबर्ष कोदो लगाए । धान खेतिका लागि आवश्यक पानी उपलब्ध नहुने भएका कारण उनले बाली परिवर्तन गरेका हुन् । पानीको अभावमा यसबर्ष पनि बाँझो नराख्नका लागि उनले कोदो लगाएका थिए । गतबर्ष सो जमिन बाँझो राखेका उनले यसबर्ष निक्कै मेहनत गरेर कोदो रोपेको बताए । फुल फुल्ने यस समयमा कोदोको नल नै सुकेपछि उनी चिन्तित छन् । कोदो उत्पादन गरेर भएपनि जिविका चलाउने उनको सपना यतिबेला चकनाचुर भएको छ । कारण हो, पानीको अभावका कारण सुख्खा लाग्न थाल्नु । दरनालको बारीको कोदो काम नलाग्ने गरी सुक्न थालेको छ । अहिले बुद्धशान्तिको त्यस स्थानमा सुख्खा लाग्ने समस्या बढेका कारण सयौ किसान पीडित बनेका छन् । कल, ईनार लगायत पानीका श्रोत सुक्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । किसानको बालीमात्र नभएर रुख बिरुवा नै सुक्न थालेपछि उनीहरु बसाई सर्ने अवस्थामा पुगेका छन् । दरनाल मात्र होइन, त्यस स्थानका डिल्लिराम खातीको पनि बाँसको झ्याङ नै सुकेको छ । बाली मात्र नभएर बाँस, सिसौ, खयर समेत सुक्न थालेपछि उनी चिन्तित छन् । खातीले पानी अभावका कारण धान, मकै लगायतका बाली लगाउन नसकेपछि लगभग १ बिगाहा जमिनमा बृक्षारोपण गरेका थिए । बृक्षारोपणकै टिक, मसला सुक्न थालेपछि खाती पनि दरनाल जस्तै पीडित बनेका छन् । खोला दोहन मुख्य समस्या बिरिङ खोलाको धारमा घर, जमिन भएका उनीहरु दोहनका कारण सुख्खाग्रस्त हुने क्रम भएको बताउँछन् । पछिल्लो समयमा धेरै भन्दा धेरै खोलाजन्य सामग्री उत्खनन गर्न थालेपछि बोटबिरुवा सुक्न थालेको दरनालले बताए । ‘एउटा सागसब्जी रोपेर खाउँला भन्न पाइदैन, बोकेको पानीले कसरी उत्पादन गर्नु ? उनले प्रश्न गर्दै भने–‘यस्तो बिकराल अवस्था आउला भनेर हामीले सोचेका पनि थिएनौ, अब के गरेर गुजारा चलाउनु होला ।’ ‘पहिले यस्तो सुख्खा हुने क्रम थिएन, स्थानीय मित्रलाल घतानीले भने–‘खोलामा स्काभेटर हालेर उत्खनन गर्न थालेपछि खोला गहिरिएर यस्तो भएको हो ।’ उनले खोला गहिरिएपछि स्थानीय वासिन्दा बसाई सर्नुपर्ने अवस्था आएको बताए । घतानीले भने ‘मैले पनि खानीपानीको पाइपबाट पानी हालेर साग पात रोपिरहेको छु ।’ त्यसो गर्दा पानीको बिल धेरै आउने भएपनि हरियो देख्नका लागि पनि बिलको वास्ता नगर्ने गरेको उनले बताए । स्थानीय तह नै दोहनमा सक्रिय बिरिङ दोहनका कारण खोलाधारमा घर भएका स्थानीय पीडित भइरहेका समयमा दोहनको अगुवाई स्थानीय तहले लिएको पाइएको छ । अर्जुनधारा नगपालिकाका प्रमुख हरिकुमार रानाको अगुवाईमा शुक्रबार खोला उत्खननका लागि एरिया तोकिएको छ । बुद्धाशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाको सिमानामा पर्ने त्यस स्थानमा उत्खनन गर्ने क्षेत्र निर्धारणका लागि रानाले नै पहल गरेको स्थानीय बिशाल खड्काले बताए । ‘हामी आज एरिया तोक्छौ, उत्खनन गर्न दिएनन् भने आगामी बर्ष खोलामा बालुवा चालेर खान पनि प्रतिबन्ध लगाइदिन्छु, उनले भने–‘प्राकृतिक श्रोतको दोहन होइन, उपयोग गर्ने नीति लिएर हामी आएका र्हौ ।’ बिरिङ खोलामा हजारौ परिवारले बालुवा चालेर जिविकोपार्जन गर्दै आएका छन् । सुटुक्क हुन्छ आइइई नगरपालिकाले बातावरणबिद तथा भुगर्भबिदको राय भन्दै सुटुक्क प्रारम्भिक वातावरणीय परिक्षण (आइइई) गर्ने गरेको खुलेको छ । आइएलओ अभिसन्धीमा हस्ताक्षर गरेको मुलुकले खानीजन्य पदार्थको उत्खनन र उपयोग गर्दा स्थानीयको राय, सुझाव र सहमति अनिवार्य रुपमा लिनुपर्ने प्रावधान बिपरीत आइइई गर्ने गरेको पाइएको हो । ‘नगरपालिकाले कसलाई सोधेर आइइई प्रतिवेदन तयार गर्छ त्यो थाह भएन, स्थानीय श्रीबहादुर भट्टराईले भने–‘यहाँका सम्पदालाई जतिसुकै असर परेपनि उत्खनन नरोकिनु दुर्भाग्य हो । तत्कालिन जिविसबाट अधिकार सरेर स्थानीय तहमा आएपछि आफ्नो आवाज सुनुवाई हुने आसा बोकेका नागरिक नगरपालिकाको कार्यशैलीले अहिले झन निरास बनेका हुन् । नगरपालिकाले आइइई गर्दा स्थानीय वासिन्दालाई थाह नदिने गरेको आरोप भट्टराईले लगाएका छन् । चरम दोहन प्रमुख समस्या तीबर्ष अघि साम्सुहाङ बिल्डर्सले ठेक्का लिएको बेला भएको चरम दोहन फेरी दोहो¥याउने अवस्थामा नगरपालिका रहेको छ । सो बेला ठुला ठुला खाल्डा खनेर खोलाजन्य सामग्री उत्खनन गरिएका कारण खोलाधारका खेतमा पानी उठ्न छोडेको हो । त्यसबेला स्थानीयले प्रतिरोध गरेपछि उत्खनन रोकिएको थियो । गतबर्ष स्थानीयले स्काभेटर प्रयोग गर्न रोक लगाएका थिए । अहिले नगरपालिकाको सक्रियतामा फेरी नाप जाँच हुन थालेपछि स्थानीय चिन्तित छन् । यो बर्ष एसयुएस निर्माण सेवाले २ करोड ६२ लाखमा ठेक्का हात पारेको छ । सिङगै नगरपालिका खोलामा बिरिङ खोला उत्खननका लागि नापजाँचमा नगरप्रमुख राना सहित प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, वाताबरणबिद ज्ञानेन्द्र चौधरी, भुगर्भबिद यदुनाथ तिम्सिना, कर्मचारी हिमराज सेडाई लगायत दुई दर्जन सरोकारवालाको उपस्थिती रहेको थियो । उनीहरुले ठेकेदार संस्थाका प्रतिनिधीलाई चारकिल्ला प्रमाणित गरेर उत्खनन गर्न दिने बताइएको थियो । प्रतिकार गर्छाैं : स्थानीय नगरपालिकाले जमिनको सतहभन्दा १० फुट गहिरो स्थानबाट उत्खनन गर्न दिएको भन्दै स्थानीयले त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् । खोलाधारमा खेती गर्दै आएका उनीहरुले उत्खननका कारण पानीको सतह गहिरिएको भन्दै प्रतिकार गर्ने चेतावनी दिएका हुन् । उनीहरुले नगरपालिकाले आफ्नो बालीको जिम्मा लिनुपर्ने माग गरेका छन् । आफ्नो मागलाई बेवास्ता गर्दै जवरजस्ती उत्खनन गरे आइपर्ने घटनाको जिम्मा लिन उनीहरुले अनुरोध गरेका छन् । खोलाको पानी जमिनमा उठ्न छोडेपछि स्थानीय किसानले खेत बाँझै राख्ने क्रम बढेको छ ।