भारत / भरतीय इतिहासकै ठूलोमध्येको एक खोजी अभियानपछि एउटी ६ वर्षीया नरभक्षी बघिनीलाई गोली हानी मारिएको छ। सर्वाधिक खोजीमा रहेकी ती बाधिनीको दुखद अन्त्य भएको छ ।  ६ वर्षीया उक्त बघिनी दुई वर्षअघि पश्चिमी राज्य महाराष्ट्रको जङ्गलबाट भागेकी थिइ । गत महिना वन अधिकारीहरूले ती बघिनीलाई आकर्षित पार्न अत्तर छर्केका थिए । अधिकारकर्मीहरूले ती बघिनीलाई बचाउने अभियान चलाएका थिए, तर सर्वोच्च अदालतले वन अधिकारीहरू त्यसलाई मार्न बाध्य भए त्यसमा हस्तक्षेप नगर्ने बताएको थियो। कसरी मारियो बाघिनीलाई बघिनी देखिएको सूचनाका आधारमा शुक्रवार साँझ एउटा गस्ती टोली बोराती गाउँ नजिकको क्षेत्र पुगेको थियो । बेहोस पार्ने डार्ट्स प्रहार गरिएपछि आठदेखि १० मिटरको दूरीबाट एउटै गोलीको प्रहारबाट बघिनी मारिएको अधिकारीहरूले बताएका छन् । अधिकारीरहरूका अनुसार अब सो बघिनीको शवको पोस्टमार्टम गरिनेछ । बघिनीलाई लक्षित गर्दै मध्य भारतमा ठूलो स्तरमा एउटा खोजी अभियान गरिएको थियो । वन विभागका एक सयभन्दा बढी अधिकारी, सुरक्षाकर्मी, बेहोस पार्ने विशेषज्ञ, निशानेबाज र पशु चिकित्सक एउटा बघिनीलाई खोजिरहेका थिए ।

गत सेप्टेम्बरमा सर्वोच्च अदालतले ती बघिनीलाई मार्न नहुने मागसहितको एउटा रिट खारेज गरिदियो, त्यसपछि बघिनीको खोजी अभियान पुनः शुरू भएको थियो । भारतमा पहिला घट्ने क्रममा रहेको बाघको सङ्ख्या संरक्षण प्रयासपछि सन् २००६ यता बढिरहेको छ। विश्वका कुल बाघमध्ये ६० प्रतिशत भारतमा छन् । सन् २०१४ मा गरिएको गणना अनुसार भारतमा बाघको सङ्ख्या २,२२६ छ। भारतको पर्यावरण मन्त्रालयका अनुसार बाघ र हात्तीको आक्रमणबाट सन् २०१४ को एप्रिलदेखि सन् २०१७ को मेको बीचमा १,१४४ जना मारिएका छन्। त्यसमध्ये १,०५२ जना हात्तीको आक्रमणबाट मारिएका हुन् भने ९२ जना बाघको आक्रमणबाट। (बीबीसी)