रङ्गेली/महानगरमा खानेपानीको सुविधा नपुगेको स्थानमा जमिनमुनिको पानी निकालेर चलाउनु पर्ने अवस्था छ ।

शहरीकरणसँगै पानीको दोहन बढेपछि सामान्य अवस्थाको गहिराइमा यहाँको जमिनमा बोरिङ गर्दा पानी भेट्न छाडिएको छ । शहरीकरणका साथै चुरेक्षेत्रको वन विनाशका कारण जमिनमुनिको पानीको सतह सुक्दै गएपछि बोरिङ गरेर पानी निकाल्न आम सर्वसाधारणलाई चर्को मूल्य पर्न थालेको छ ।

आजभन्दा १० वर्षअगाडिसम्म विराटनगर महानगरपालिकाको शहरी क्षेत्रमा बढीमा ९० फिट बोरिङ गर्दा ‘वाटरपम्प’ लाई पुग्ने पानीको सतह सहजै भेट्न सकिन्थ्यो । त्यस्तै बढीमा ६० फिट खन्दा चापाकललाई हुन्थ्यो ।

अहिले त्यो अवस्था रहेन । ‘वाटरपम्प’ का लागि कम्तिमा २ सय फिट बोरिङ गर्नुपर्ने अवस्था भएको छ । त्यस्तै चापाकलका लागि पनि १ सय ५० फिटभन्दा बढी खन्नुपर्ने अवस्था छ ।

शहरी क्षेत्रमा वन अतिक्रमण बढेसँगै जमिनमुनिको पानीको सतह निकै तल पुगेको छ । पानीको सतह सुकेपछि विराटनगरमा अहिले सामान्यतया वाटरपम्पका लागि बोरिङ गर्न ३ लाख र चापाकलका लागि ५० हजारको हाराहारीमा खर्च हुने गरेको छ । जुन सामान्य परिवारका लागि असम्भव जस्तै भएको छ ।

शहरिया गरिब परिवारलाई यो समस्याको रूपमा विकास हुने क्रममा रहेको छ । यसतर्फ सङ्घ, प्रदेश र स्थानीय सरकारले खासै चासो दिएको पाइँदैन ।

विराटनगर महानगरपालिकाको वडा नं. ७ मेनरोडस्थित अतिथि सदनलाई वाटरपम्प जडानका लागि बोरिङ गर्न १४ दिन लागेको छ । ५ जना मिस्त्रीले १४ दिन नियमित काम गरेर सम्पन्न गरेका हुन् ।

पानीको सतह नभेटिँदा धेरै दिन लागेको ठेकेदार रामप्रसाद कामतले बताए । मोरङ कटहरीका ठेकेदार रामप्रसाद कामतले प्रतिफिट ५ सयका दरले ठेक्का लिएको बताए ।

कम्तिमा पनि २ सय फिट बोरिङ गरेको ज्याला र सामान गरी ३ लाखको हाराहारीमा रकम लाग्ने उनले बताए । कामदारले दिनको ७ सय ५० का दरले ज्याला लिने गरेको उनले बताए ।

संस्थानको पानीले अपुग हुने भएपछि वाटरपम्पबाट पानी तान्न लागेको अतिथि सदनले जनाएको छ ।  ठेकेदार कामतका अनुसार विराटनगर महानगरपालिकामा वाटरपम्पका लागि कम्तिमा २ सय फिट र ग्रामीण क्षेत्रमा १ सय ५० देखि १ सय ८० फिटसम्म बोरिङ गर्नुपर्ने हुन्छ ।

उनले दुई दिन अगाडिमात्रै विराटनगरको सरस्वती टोलमा चापाकलका लागि १ सय ८० फिट बोरिङ गरेको बताए । महानगरमा चापाकल जडानका लागि ५० हजार आसपास खर्च लाग्ने ठेकेदार कामतले बताए ।

पहिला १ दिनमा जडान गर्न सकिने चापाकल अहिले पानीको सतह नभेटिँदा ३ देखि ५ दिनसम्म लाग्ने गरेको र निर्माणको लागत बढेको बताए ।

जीवन निर्वाहका लागि मजदुरी गर्नेहरूले चापाकल निर्माण गर्न छाडेको उनले बताए ।