विराटनगर/गैरनेपाली नगरिकलाई नागरिकता दिएको अभियोग लागेपछि फरार भएका विराटनगर महानगरपालिका–१ का जनप्रतिनिधि र वडासचिवविरुद्ध प्रहरीले मुद्दा दायर गर्ने भएको छ ।
मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमा अभियोग पत्र पेश गरेपछि कीर्ते विवरण पेश गरी नगरिकता दिलाएको अभियोग लगाएर आज (आइतबार) मोरङ अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।
प्रत्येक वर्ष एक जनालाई नागरिकता दिलाउने धन्दा गर्दै आएका विराटनगर–१ घर भई हाल कटहरी गाउँपालिका–१ का ५५ वर्षीय सत्यनारायण पोद्दारको प्रभावमा परेर १ नम्बर वडाअध्यक्ष तथा महानगरपालिकाको प्रवक्तासमेत रहेका उद्धव अर्यालले दुई जना गैरनेपाली नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको खुलेको छ ।
पोद्दारले आफू बाबु बनेर हालसम्म ७ जनालाई नागरिकता बनाइदिएको खुलासा भएको हो । २०७४ मा एकजनाको नागरिकता बनाइदिएका पोद्दारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएका हुन् ।
तर जिल्ला प्रशासन कार्यालयले सिफारिसप्रति शङ्का गरेपछि घटना सार्वजनिक भएको हो । मोरङ प्रहरीले कीर्ते गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्दारलाई पक्राउ गरेपछि उक्त रहस्य बाहिरिएकोे हो ।
उनले मोटो रकम लिँदै गैरनागरिकलाई नागरिकता बनाइदिने गरेको स्रोतले बतायो ।
पोद्दार पक्राउ परेपछि नागरिकताको सिफारिस गर्ने वडाअध्यक्ष अर्याल, वडासदस्य रमेश साह र सुन्दरहरैंचा घर भई हाल विराटनगर महानगरपालिका १ नम्बर वडासचिव पुष्पा तिम्सिना फरार छन् ।
प्रहरीले अभियोगपत्र अदालतमा पेश गरेपछि पक्राउ परेका पोद्दार र उनका छोरा भनिएका २५ वर्षीय राजेन्द्र पोद्दार, वडासदस्य साह र १ नम्बर वडासचिव तिम्सिनालाई मात्र अभियोग लगाएर मुद्दा दायर गर्ने तयारी गरेको अदाल स्रोतले जानकारी दिएको छ ।
कीर्ते गरी नागरिकता दिलाउने र लिने पक्राउ परे पनि सिफारिस दिने वडाअध्यक्ष अर्याललाई जोगाएर अन्यलाई मात्र मुद्दा दिने तयारी गरेको स्रोतको दाबी छ ।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले कीर्ते गरी नागरिकताको सिफारिस दिने–लिने सबैलाई कारबाहीको दायरामा ल्याउने बताए ।