धनकुटा/ धनकुटाको हिले बजारमा शुक्रबार राति एक युवकको हत्या भएको छ ।
हिले बजार नजिकैको दशैं तिहार रमाइलो मेला स्थलमा घाँटीमा खुकुरी प्रहार गरी युवकको हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक युवक सुनसरी जिल्लाको इटहरी–१५ निवासी ३८ वर्षिय रामबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ । त्यहा सञ्चालन गरिएको रमाइलो मेलामा विभिन्न खेल खेलाउन आएका चौधरी मेलास्थलमा पाल भित्र सुतेको अवस्थामा हत्या गरिएको छ ।
अन्य साथी होटलमा बसेका र मृतक चौधरी मात्र मेला स्थलमा राति सुतेका थिए । एक्लै सुतेको अवस्थामा उनको हत्या भएको प्रहरीको भनाई छ । अनुसन्धानका क्रममा धरानबाट डग हाउसबाट कुकुर ल्याइएको प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए ।
बिहान मेलामा खेल खेलाउने चौधरीका साथी घटनास्थल पुग्दा उनको विभत्स हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
रमाइलो मेला लगाउन स्थानीय प्रशासनले स्वीकृति दिएको जनाईएको छ । सुरक्षाको दृष्टिले मेला सञ्चालन गर्न नहुने पक्षमा समेत अधिकांस स्थानीयबासी रहेका थिए ।
यस्तै मेलामा डाइस लगायतका जुवा जन्य खेल नखेलाउनेबारे सहमति भएपनि ति खेल खेलाइने गरेको स्थानीयको भनाई छ । प्रहरी चौकिबाट नजिक रहेको सो स्थानमा राति ९ बजेसम्म मेला सञ्चालन गरिएको थियो ।
साँझ ६ बजेसम्म मात्र मेला सञ्चालन गरिनेबारे सहमति भएपनि अबेरसम्म खेल खेलाईएको स्रोतको दाबी छ ।
घटनाबारे प्रारम्भिक अनुसन्धानका क्रममा मेला संचालनमा संलग्न हुने १५/१६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ भैरहेको प्रहरी प्रमुख सुरेन्द्र वहादुर गुरुङ्गले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतक रामबहादुर चौधरीको सनिबार जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी प्रमुख गुरुङ्गले बताएका छन् ।
मृतक चौधरी शसस्त्र प्रहरीको भुपु असै रहेको पनि समचार श्रोतले जनाएको छ ।