नव यौवनाका कोमल पाखुरा झैँ सुरिला धातुका डन्डीमा वीरताको गरिमाको आकाश थेग्ने लाहुरे वीरको टोप झैँ टोपी भिरेर, फलेको वृक्षको नुहेको हाँगो झैँ ज्योती फैलाएर पनि झुकिरहेको। अनकन्टार फाँटको बटुकलाई छितिज माथीको ध्रुब तारा झैँ, सान्त, शिष्ट र सुशीला यौवनको सुन्दरतामा जगमग चम्किरहेकी एक स्टृट ल्याम्प झैँ छौ तिमी । तर तिमी तारा नै भए नि मलाई के?
दमले गलेका बाजेको इनहेलरको कृतिम प्राणको भर पौरखी बा'का पैतालाको पाप्राको एक कण आमैको बुढेस्कालको बिस्कुनको पट्याँसको एक कसिंगर अनि आफ्नै सपनाको चोइटाहरुको ढेर यी सब मिलेर बनेको छु म। रुमल्ली रुमल्ली अस्तित्व सापटी मागी फिरेको म धुलो हुँ केवल यो सभ्यताको । बतास मेरो पखेटा भो तेस्को बहाव मेरो रहर। म कोहिनुरको एक कण नै भए नि मलाई के?
म तिमीमा थोपरिएर के हुन्छ र? न तिमी हिमाल न म हिउँ। हामी बिच पिरती भएर के हुन्छ र? जति बाक्लिए पनि बादललाई हावाकै डर। प्रेमिलभेट जति नै लामो भए नि के हुन्छ र खै? समाजको, प्रतिष्ठाको कुचो चल्न देर भए नि शिशिरको सिरेटोले नि हामीलाई छुट्याई छाड्छ। आउँदा जीवनको हिंउद।
अलविदा मायालु, शरद सकियो अब तिम्रो सजिने बेला आयो। रङमा तिमी रङिने बेला आयो। दुलही झैँ तिमी धपक्कै बल्नु। तिमी घरबेटिकि छोरीलाई बिदाईमा बाटो देखाउनु। म उन्कै दुलहाको टोपिमा अल्झिएर उनलाई नयाँ घर सम्म पुर्याएर आउंछु।
-उज्जवल राज घिमिरे (गौशाला)