बिर्तामोड / झापाको बाह्दशी ६ मा नेपाली सेनाका जर्नेल गौरब तण्डुलका श्रीमति मुना उप्रेतीले स्थानीयले प्रयोग गर्दै आएको सडक भत्काए पछि तनाव उत्पन्न भएको छ । उप्रेतीको जमिनमा सडक निर्माण गरेर स्थानीयले प्रयोग गर्न थालेपछि बिवाद शुरु भएको थियो । बाह्दशी गाउँपालिका वडा नम्बर ६ को २२ घरले प्रयोग गर्दै आएको सडक उप्रेतीको जमिनमा परेपछि उनले त्यो सडक जोत्न लगाएकी थिइन् । स्थानीयले २० औं बर्षदेखि प्रयोग गर्दै आएको सडक उप्रेतीले जोत्न लगाएर हाल त्यहाँबाट मानिसलाई आवत जावत गर्न नदिन सुरक्षागार्ड समेत राखेको बताइएको छ । यसैक्रममा स्थानीय देवका संग्रौलालाई सो स्थानको बाटो हुँदै खेतमा खाजा पु¥याउन गएका समयमा जमिन रुङन राखेका सुरक्षागार्डले दुब्र्यबहार गरेका थिए । त्यसपछि आक्रोशित स्थानीयले उनलाई कुटपिट गरेको स्थानीयले बताए । स्थानीयको कुटपिटबाट उप्रेतीका सुरक्षाकर्मी घाइते भएका छन् । उनको बिर्तामोडमा उपचार भइरहेकोे छ । सेनाका अवकास प्राप्त २ जना सुरक्षागार्डले त्यो स्थानमा बसेर स्थानीयलाई आवत जावत गर्नबाट रोक लगाउँदै आएका थिए । उप्रेतीले जोतेको जमिनमा अहिले दाल छरिएको छ । बाली लगाएको जस्तो मात्र दाल भए पनि त्यो जमिनमा कसैलाई प्रवेश गर्न पनि दिइएको थिएन । पदको आडमा उप्रेतीले आफुमाथि दमन गरेको भन्दै बाह्दशी गाउँपालिकाका स्थानीयले बिरोध जनाएका हुन । नेपाली सेनाका जर्नेल गौरव तण्डुलको निर्देशनमा बाटो भत्काएपछि स्थानीयवासी बिरोधमा उत्रिएका हुन् । काक्रामारीदेखि बुधबारे, चकचकी र राजगढसम्म जोड्ने बाटो केही महिना अघि उप्रेतीको निर्देशनमा भत्काइएको थियो । रथी तण्डुलका श्रीमती मुना उप्रेतीको नाममा रहेको ५ बिगाहा जमिन हुँदै जाने बाटो भत्काएपछि स्थानीयलाई आवत जावतमा समस्या भएको छ । स्थानीय रमेश संग्रौलाका अनुसार बर्षाैंदेखि प्रयोग हुँदै आएको बाटो भत्काउँदा दैनिक कामकाजमा समेत असर परेको छ । आफ्नो समस्या स्थानीय प्रशासन समक्ष राख्दा समेत उप्रेतीले दवाव दिएर छलफल समेत नगराएको गुनासो गरेका छन् । अर्का स्थानीय भगिरथ संग्रौलाले ब्यक्तिगत रिसइबी साँध्न कसैको उक्साहटमा बाटो भत्काइएको आरोप लगाए । सो बाटो भएर दैनिक २२ परिवारले आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । तर, सो ठाउँमा सेनाकै मान्छे परिचालन गरेर रोक लगाउँदा स्थानीय त्रसित भएको बताएका छन् । नेपाली सेनाका जवानमाथि हातपात गरेपछि सेना आएर गाउँमा तनाव उत्पन्न हुने आशंकामा स्थानीय त्रसित छन् । उनीहरुले जिउधनको सुरक्षाका लागि माग समेत गरेका छन् । ‘हामीले ठेक्का लिने मान्छे आउँदा जोतभोग गरेर बुझाएकै थियौ, एकजना जोताहा जयनारायण उप्रेतीले भने–‘ठेक्का लिने मान्छे नआएपछि बुझाउन छोडेका हौ । उनले अहिले पनि जग्गाधनी आए बिगतदेखिको सबै ठेक्का एकमुष्ट तिर्ने बताए । यता जग्गाधनी उप्रेतीले भने स्थानीयले जमिन हडप्न खोजेपछि बाध्य भएर हटाएको बताएकी छन् । जमिनमा सेनाका जवानले सुरक्षा दिइएको बारेमा उनले भनिन, –‘अवकाश प्राप्त सेना हो, मैले ब्यक्तिगत रुपमा राखेको हो ।’ बाह्दशी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रत्न योङहाङ्गका अनुसार १५, २० बर्षदेखि चलिआएको बाटो एकलौटी तरिकाले भत्काइएको बताए ।