पाँचथर/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार पूर्णतः असफल भइसकेको टिप्पणी गरे ।
सदरमुकाम फिदिममा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै थापाले प्रक्रियागत त्रुटिका कारण दुई तिहाइ बहुमत प्राप्त सरकार निरन्तर असफलतातिर लम्किरहेको जिकिर गरे ।
थापाले विगतमा पर्याप्त संवाद नै नगरी राजसंस्था हटाउने, मुलुकलाई धर्मनिरपेक्ष बनाउने जस्ता निर्णय गरिएकाले अहिले त्यसको कार्यान्वयन जटिल बन्दै गएको बताए ।
यिनै प्रक्रियागत त्रुटिहरूले सरकारलाई असफल बनाइरहेको उनको भनाइ थियो । थापाले भ्रष्टाचार व्यापक रूपमा मौलाएको तर सरकार त्यसविरुद्ध सशक्त रूपमा प्रस्तुत हुन नसकेको बताए ।
देशलाई टुक्र्याउनुपर्छ भन्ने विखण्डनकारी शक्तिहरू खुलेआम सडकमा उत्रिँदासमेत सरकार मुकदर्शक बनेको थापाको आरोप थियो ।
सरकारले सन्तुलित परराष्ट्र नीति अपनाउन नसक्दा नेपाल वाह्य राष्ट्रहरूको रणनीतिक रणस्थल बन्ने खतरा रहेको थापाले औंल्याए ।
यी तमाम समस्याहरूलाई हल गर्न मुलुकमा बलियो प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्र्दै थापाले त्यो आवश्यकता पूर्तिका लागि राप्रपा पार्टी सुदृढीकरणमा लागेको बताए ।
अध्यक्ष थापा कार्यकर्ता भेटघाट तथा प्रशिक्षणको सिलसिलामा पाँचथर आएको बताइएको छ ।