मोरङ/नोबेल शिक्षण अस्पतालले ९५ वर्षीय वृद्धको मुटुमा पेसमेकर (विद्युतीय ब्याट्री) राख्न सफलता प्राप्त गरेको छ ।

झापा अर्जुनधाराका भुवानसिंह देवानको मुटुमा पेसमेकर राखिएको हो । पेसमेकर राख्नुलाई सामान्य मानिए पनि उमेर धेरै भएका व्यक्तिमा राख्दा केही जोखिमसमेत हुने गरेको छ ।

तर, देवानको मुटुमा राख्न सफल भएको नोबेल अस्पतालका निर्देशक एवम् मुटुरोग विशेषज्ञ डा. राजेश नेपालले बताए । अस्पतालका अनुसार यो नेपालमै पहिलो पटक यति धेरै उमेरको व्यक्तिमा राखिएको हो ।

वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा करिब ६० देखि १०० पटक धड्कन्छ ।

मुटुको धड्कन आवश्यकभन्दा कम भएमा शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने हुनाले चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, मूच्र्छा पर्ने र मृत्युसमेत हुने खतरा हुन्छ । यस्तो समस्यालाई समाधान गर्नका लागि मुटुमा पेसमेकर राख्ने गरिन्छ ।

मुटुको धड्कनलाई नियमित गतिमा ल्याउनका लागि यो प्रयोग गरिने डा. नेपालले बताए ।

‘बुबालाई ठीक होला कि नहोला भनेर धेरै डर लागेको थियो । तर, राम्रो उपचार पाएर अहिले बुबाको अवस्था धेरै सुधार भएको छ’ छोरा गोपाल देवानले भने, ‘जुन विश्वास गरेर आएका थियौं राम्रो उपचार भयो ।’