बेलबारी/हिजोआज व्यक्तिगत रूपमा रिसोर्ट तथा विभिन्न फन पार्कहरू निर्माण गरेर आयआर्जन गर्ने राम्रो व्यवसायको रूपमा देखापरेको छ ।
आन्तरिक पर्यटकहरूको रमणीयस्थलमा घुम्ने र मनोरञ्जन लिने चाहनालाई मध्यनजर गरेर ती पार्क, रिसोर्टहरू बन्ने क्रममा छ ।
निजी रूपमा स्थापना भएका विभिन्न रिसोर्टहरूको अवधारणालाई पछ्याउँदै अहिले सामुदायिक रूपमा पनि प्राकृतिक वस्तुहरूको विकास र प्रवद्र्धन गर्दै आन्तरिक स्रोतको माध्यम बनाउन थालिएको छ ।
त्यसको एउटा नमुनाको रूपमा मोरङको बेलबारीमा वेतना सिमसारलाई लिन सकिन्छ । समुदायको स्वामित्वमा रहेको वेतना सिमसार बेलबारी–४ का कृषकहरूको सिंचाइका निम्ति बनेको बाँधको रूपबाट विकास भएको हो ।
सोही वतौना बाँध आज वार्षिक एक करोडभन्दा बढी रकम आम्दानी गर्ने स्थलको रूपमा परिणत भएको छ ।
शुरुमा वेतना सिमसारलाई संरक्षण समितिले सञ्चालनमा ल्याएका थिए भने २०७२ सालमा जिल्ला वन कार्यालयमा दर्ता गरी सामुदायिक वनको अवधारणा अन्तर्गत सञ्चालन गर्न थालिएको छ ।
अहिले वेतना सिमसारमा आगन्तुकहरूको संख्या ह्वात्तै बढेको छ । अहिले दैनिक एक हजारभन्दा बढी मानिसहरूको चहल–पहल हुने गरेको छ । वेतनामा पिकनिकको समय र नयाँवर्षमा औधी मात्रामा मानिसहरू अवलोकनका लागि आउने गरेका छन् ।
नयाँवर्षमा ८ हजार जनाले अवलोकन गरेको समितिका सचिव निशाकिरण राईले बताइन् । गतसाल यस समूहले एक करोड दुई लाख आन्तरिक स्रोतको रूपमा आर्जन गरेको राईले बताइन् ।
विशेष गरेर प्राकृतिक दृश्यको अवलोकन तथा जैविक विविधताको अध्ययनका लागि मानिसहरू आउने गरेका छन् । मानिसहरूको आवत–जावतले सिमसारदेखि दक्षिणमा २५ वटा खाजा घरहरू सञ्चालित छन् ।
वेतना सिमसारलाई अझ बृहत् रूपमा विकास तथा प्रवद्र्धन गर्न २० वर्षे गुरुयोजना बनिसकेको छ । गुरुयोजना बनेसँगै वेतनाको स्वरूप पनि नयाँ बन्न थालेको छ ।
एक सय ७४ हेक्टरमा फैलिएको सिमसारलाई तीन खण्डमा विभाजन गरिएको छ । खण्ड १ लाई प्रयोग क्षेत्र, २ लाई मानव नियन्त्रित क्षेत्र र खण्ड ३ लाई संरक्षित क्षेत्र बनाइने भएको छ ।
यहाँ चिडिया घरदेखि लिएर विभिन्न जातजातिहरूको सँस्कृति झल्कने सङ्ग्रहालयसम्म बनाउने अवधारणा ल्याइएको छ । पिकनिक, बोटिङ, फन पार्क, ध्यान केन्द्रलगायतका भौतिक वस्तुहरूको निर्माण हुने भएको छ ।
साथै जैविक विविधताको विषयमा अध्ययन अवलोकनका लागि सूचना केन्द्रसमेत स्थापना गरिने गुरुयोजनामा उल्लेख छ । हाल सिमसारको अग्रभागमा फाउण्टेन पोखरी, काठका पुल तथा पिकनिक स्पटहरूलाई विस्तार गरिएको समितिका अध्यक्ष डम्बर बस्नेतले बताए ।
विद्युत्को अभावमा फाउण्टेन पोखरी सञ्चालनमा आउन नसकेको कारण थप विद्युत् विस्तार गर्नुपर्ने बस्नेतको भनाइ छ । सिमसारको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि एक करोड रकम विनियोजन गरेको छ ।
वेतना सिमसारलाई गुरुयोजना अन्तर्गत निर्माण गर्न समय लाग्ने भएको हुँदा यो निर्माण भइसक्दा नेपालकै नमुना पर्यटकीय क्षेत्र बन्ने बस्नेतको भनाइ छ ।
समूहका अध्यक्ष बस्नेत नेतृत्वकाे समितिको कार्यावधि गत असार मसान्तमै सकिएपछि अबको नेतृत्व कसले लिने भन्ने विषयमा यतिखेर बेलबारीमा छलफल प्रारम्भ भएको छ ।
विधानतः समितिको तीन वर्षे कार्यकाल समाप्त भए तापनि विशेष परिस्थितिमा छ महिनामासम्म कार्य गर्ने व्यवस्था विधानमा रहेको छ । सोहीअनुसार यस समितिले आफूले गरेको काम कारबाहीलाई अन्तिम रूप दिन लागेको हो ।
समितिको कार्यावधि सकिएलगत्तै अहिले सिमसारको अध्यक्ष बन्न धेरैको आकांक्षा रहेको पाइएको छ ।
वेतना सिमसारले कमाएको प्रसिद्धिसँगै यसलाई थप व्यवस्थित बनाउन आफूहरूसँग विभिन्न योजना रहेको उल्लेख गर्दै अध्यक्षका आकांक्षीहरूले आन्तरिक पहल शुरु गरेका छन् ।
वेतना सिमसारको अध्यक्षका लागि वर्तमान अध्यक्ष बस्नेतले पनि अध्यक्ष बन्ने इच्छा व्यक्त गरेको बुझिएको छ । समूहको गुरुयोजना निर्माणपछिका कार्यहरूलाई निरन्तरता दिन उनले पुनः अध्यक्षमा आउने इच्छा जाहेर गरेको बुझिएको छ ।
त्यसैगरी समितिका वर्तमान सचिव निशाकिरण राई र कोषाध्यक्ष कमल कोइरालाले पनि सिमसारको नेतृत्वमा आउने मनसाय राखेको बुझिएको छ ।
अघिल्लो पटक राजनैतिक सहमतिमा टुङ्गिएको वेतना सिमसारको नेतृत्व यसपटक चुनावी प्रक्रियामा जाने सम्भावना पनि उत्तिकै देखिएको छ ।
वेतना सिमसारको अध्यक्षका लागि गाविस पूर्वअध्यक्ष शिवप्रसाद बरालले अध्यक्ष बन्न पहल शुरु गरेको बुझिएको छ । त्यसैगरी, तिहारलगत्तै सिमसारको अध्यक्षको लागि लविङ शुरु हुने देखिएको छ ।