पथरीशनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादन कार्यमा तदारुकता देखाउँदै स्थापनाकालदेखि हालसम्म २ सय ५७ वटा मुद्दाको छिनोफानो गरेको छ । यो संख्या जिल्लाका अन्य पालिकाको भन्दा बढी रहेको उल्लेख छ ।

न्याय सम्पादन कार्यलाई प्रभावकारी बनाउने योजनाअनुसार गाउँघरमै गएर स्थानीयको गुनासो सुन्ने अभियान अन्तर्गत हसन्दहमा भएको ‘जनगुनासो सुनुवाइ’ कार्यक्रममा समितिले मुद्दा किनारा लागेको संख्या उल्लेख गर्दै न्याय सम्पादनमा तदारुकता रहेको समेत जानकारी गराएको छ ।

नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले नगरवासीलाई न्याय प्रदान गर्ने कुरामा आफूहरू हरदम लागिरहेको जनाइन् ।

उनले नगरपालिकाले मिलाउन मिल्ने मुद्दाहरू अधिकांश नै मेलमिलाप गराएर पठाएको जनाउँदै अदालती मुद्दाका लागि जानुपर्नै आर्थिक अवस्था कमजोर भएका मानिसलाई निःशुल्क वकालतको व्यवस्था मिलाएको पनि उल्लेख गरिन् ।

जनगुनासो सुनुवाइमा वडानम्बर ५ र ६ का बासिन्दाले नगरको दक्षिणी तथा विकट ग्रामीणक्षेत्रका रूपमा रहेको हसन्दहलाई पनि विकासको गतिमा अघि बढाउन नगरपालिकाको विशेष भूमिका रहनुपर्ने सुझाव दिएका छन् ।

ज्येष्ठहरूका लागि आवश्यक रहेको अवस्थामा दाँत, आँखा लगाइदिने कार्यक्रम ल्याउनु आवश्यक हुने उनीहरूको राय छ ।

सर्पदंश उपचार, पथरी बजारसम्म बिरामी पु¥याउन निःशुल्क एम्बुलेन्स सेवासहितको व्यवस्थापनको माग राख्दै दक्षिणी क्षेत्रको पीडालाई अझ ध्यान दिनुपर्ने सुझाव पेश भएको छ ।

कार्यक्रममा नगर उपप्रमुख वास्तोला, ५ नम्बर वडाअध्यक्ष जोगबहादुर धिमाल, ६ नम्बरका कार्यवाहक अध्यक्ष जीवच्छ राई, ७ नम्बर वडाअध्यक्ष कपिलमणि ढकाल, नगरका कानूनी सल्लाहकार दीपक राईसहितले नगरले योजनाबद्ध कामको थालनी गरेको र स्थानीयको सल्लाह, सुझाव र सहयोगमा थप प्रभावकारी बनाउँदै लगिने बताए ।

युवा समाजसेवी युवराज वास्कोटासहितले भौतिक पूर्वाधारलाई जत्तिकै मानवसंसाधन एवम् चेतना पक्षको विकासका योजनालाई थप प्रभावकारी बनाउँदै लानुपर्नेमा जोड दिए ।

यसअघि समितिले वडानम्बर ४, ७, ८ र ९ तथा वडानम्बर २ र ३ का लागि दुईवटा कार्यक्रम गरेको थियो । त्यहाँ वडातहमा भएका न्यायिक समस्याहरू पनि पेश भएका थिए ।

हसन्दहको जनगुनासो सुनुवाइमा न्यायिक समस्याका खासै कुरा नउठेको भए पनि समितिले न्याय सम्पादनका तौरतरिका बताउँदै हालसम्म समितिले छिनोफानो गरेका मुद्दाको संख्या उल्लेख गरेको थियो ।

०७४ साउन १५ देखि ०७५ साउन १५ सम्मको १ वर्षे अवधिमा समितिले २ सय १० वटा मुद्दाको छिनोफानो गरेको छ । साउन १५ देखि कार्तिक १५ सम्मको ३ महिनाको अवधिमा ४७ वटा थप गरी हालसम्म २ सय ५७ वटा मुद्दाको छिनोफानो भएको छ ।

०७४ साउन १५ मा गठन भएको समितिमा ३ सय १५ मुद्दा दर्ता भएकामा त्यो बेला २ सय १० वटा मुद्दा मेलमिलापको माध्यमबाट मिलाइएको थियो ।

बाँकी मुद्दाहरू कोही घरपरिवारमै मिलेको, कोही अदालतमा दर्ता भएको तथा केही मुद्दाहरू मिलाउने प्रक्रियामा रहेको अवस्था थियो ।

न्याय क्षेत्रमा तल्लोस्तरका नगरवासीको समेत सहज पहुँच पुगोस् भन्ने उद्देश्यले खडा भएको न्यायिक समिति बनेपछि वर्षाैंदेखि न्याय नपाएर हैरान भएकाहरूले न्याय पाएको उपप्रमुख वास्तोलाले बताइन् ।

वडातहमै मुद्दाहरू मेलमिलाप गराउने र त्यहाँ किनारा लाग्न नसकेका मुद्दाहरूलाई साताको २ दिन न्याय समितिले हेर्ने गरिएको छ । समितिमा नगर उपप्रमुख संयोजक तथा कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा र वडासदस्य दुर्गाप्रसाद सिटौला सदस्य रहेका छन् ।

न्याय सम्पादन थप व्यवस्थित गर्न अधिवक्ता दीपक राईलाई कानूनी सल्लाहकारका रूपमा राखिएको छ ।

मेलमिलापको माध्यमबाट मुद्दाहरू किनारा लगाउने सिद्धान्तलाई प्राथमिकता दिँदै प्रत्येक वडामा मेलमिलाप केन्द्र खडा गरिएको छ । त्यहाँ ३ जनाका दरले मेलमिलाप कार्यकर्ता चयन गरिएको छ ।

०७४ पुस २४ देखि २८ गतेसम्म मेलमिलापकर्ताहरूको प्रशिक्षण, ०७५ वैशाख ५ देखि ७ सम्म पुनर्ताजगी तालिम सञ्चालन गरिएको थियो ।

गत असार १७ गते जिल्ला अदालतका न्यायाधीशहरू नगरपालिकामै आई ‘न्यायमा वाह्य पहुँच’ कार्यक्रम सञ्चालन गरी न्याय सम्पादनका बारेमा थप अन्तरक्रिया भएको छ ।