पथरीशनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयबाट विनियोजित बजेटबाट तोकिएको कार्यक्रम अघि बढाउन फागुन मसान्तसम्म सम्झौता गरिसक्न नगर कार्यपालिकाले उपभोक्ताहरूलाई अनुरोध गरेको छ ।
नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको पछिल्लो बैठकले आर्थिक वर्ष ०७५/७६ का योजनाहरू कार्यान्वयन गर्न उपभोक्ता समिति गठन गरी फागुन मसान्तसम्म सम्झौता गरिसक्नुपर्ने निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईले जनाए ।
१० वटा वडा रहेको नगरमा आर्थिक वर्ष ०७५/७६ का लागि असार २९ गते सम्पन्न नगरसभाले ६० करोड २९ लाख २७ हजारको आय–व्ययको अनुमानित बजेट प्रस्तुत गरेको थियो ।
जस अन्तर्गत वडानम्बर १ मा ९ वटा, २ मा २१ वटा, ३ मा २० वटा, ४ मा २६ वटा, ५ मा २९ वटा, ६ मा २० वटा, ७ मा २० वटा, ८ मा २० वटा, ९ मा २२ वटा र १० मा १४ वटा गरी कुल २ सय १ वटा वडागत योजना बनेका छन् ।
यसका साथै नगरस्तरीय योजनाहरूसमेत छन् ।
बजेटमा नगरपालिकाको लागि नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १५ करोड ८५ लाख, राजस्व वर्गीकरण बापत प्राप्त रकम ९ करोड २१ लाख २० हजार, प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान ४२ लाख २३ हजार रुपैयाँ रहेको छ ।
सामाजिक सुरक्षा अनुदान १० करोड ७० लाख ४६ हजार, एलजीसीडीपी कार्यक्रमतर्फ ७ लाख १७ हजार, गरिबसँग विश्वेश्वर कार्यक्रमको ४ लाख २९ हजार, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १७ करोड ११ लाख र सडक बोर्डबाट प्राप्त हुने ४० लाखको बजेट छ ।
जनसहभागिताबाट १ करोड ५ लाखको अनुमान गरिएको छ । जसमा प्रत्येक वडाका लागि ८५ लाखको बजेट सिलिङ प्रदान गरिएको छ ।