ताप्लेजुङ/ताप्लेजुङमा भारतीय प्लाष्टिकका फूलले बजार ढाकेको छ ।  तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको सट्टा बजारभरी प्लाष्टिकका फूलहरूको कारोबार भइरहेको हो ।

तिहारमा अनिवार्य रूपमा फूल चाहिने भए पनि ताप्लेजुङका बजारमा अहिलेदेखि नै प्लाष्टिकका फूलहरूको कारोबार बढेको हो । ताप्लेजुङ सदमुकाम फुङ्लिङ र ग्रामीणक्षेत्रका व्यापारिक केन्द्रहरूमा रङ्गीविरङ्गी प्लाष्टिकका फूलले पसल सजिएका छन् ।

फूलहरूको पर्वमा ताप्लेजुङमा फूलको अभाव खड्किएको छ ।

अघिल्ला वर्षको तुलनामा यसवर्ष ताप्लेजुङमा सयपत्री फूलको अभाव भएको फुङ्लिङ नगरपालिका–७ का स्थानीय राजकुमार तामाङको भनाइ छ ।

केहीवर्ष अघिसम्म ढकमक्क फुल्ने सयपत्री र मखमली फूल हिजोआज लोप हुँदै गएको उनले बताए । सयपत्री र मखमली फूलहरू नहुँदा भारतीय प्लाष्टिकका फूलले बजार ढाकेको हो ।

प्राकृतिक फूल कमै मात्र पाउन थालेपछि प्लाष्टिकको मालाको आयात बढेको हो ।

शनिबार र मङ्गलबार लाग्ने हाट बजारमा सयपत्री र मखमली फूल कमै मात्र बिक्रीका लागि आउने कारण उपभोक्ताको माग धान्नका लागि प्लाष्टिकको फूल आयात गर्नुपरेको व्यवसायी बताउँछन् ।

फूल राम्ररी नफुल्नु, फुल्ने समयमा पानी पर्नु फूल अभावको मुख्य कारण रहेको पुष्प कृषक सोमनाथ दाहाल बताउँछन् । फूल फुल्ने समयमा अत्याधिक पानी परेपछि फूलका थुङ्गा कुहिएर नष्ट भएको उनले बताए ।

प्राकृतिक फूलले माग थेग्न नसकेपछि बजारबाट किनेर ल्याइएको प्लाष्टिकको मालाले यसवर्षको तिहार टार्नुपर्ने अवस्था आएको फुङ्लिङ नगरपालिकाकी कमला लिम्बू बताउँछिन् ।

घरका झ्याल–ढोका, भाँडावर्तन र कलश सजाउनसमेत फूलको प्रयोग गरिन्छ । अझ भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला लगाइने प्रचलन नेपाली समाजमा व्याप्त छ ।

सयपत्री मालाको सट्टा आजभोलि प्लाष्टिकको माला लगाउनु पर्ने अवस्था सिर्जना भएको स्थानीय बताउँछन् ।

मौलिकता हराउँदै तिहारमा देउसीभैलो लोप हुँदै गएको छ । लय हालेर देउसीको भाका मादलसँग गाउँदै हिँड्ने टोली भेट्न मुस्किल पर्ने गरेको स्थानीय बताउँछन् । ५ देखि १० जनाको टोली बनाई घरैपिच्छे गएर तिहारको शुभकामना बाँड्ने परम्परा थियो ।

अहिले त त्यसको सट्टा रेष्टुराँ र होटलहरूमा भेला भएर ह्विस्की, वियरसँग मनाउने चलन बढ्न थालेको छ’ स्थानीय ज्ञानु लिम्बू भन्छन्, ‘अहिले देउसीभैलोमा हिन्दी गीतमा उत्ताउला खालका नाचहरू देख्न सकिन्छ ।’ फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका दिनेश फुरुम्बो लिम्बूले यसपालि तिहारका लागि भनेर हिन्दी गीतमा नृत्य सिक्दै गरेको बताए ।

प्रायःजसो समूह बनाएर हिँड्ने टोलीमा युवायुवतीहरू रहेका हुन्छन् । जनचेतनाको अभावमा परम्परा नासिँदै गएको स्थानीय अगुवाको भनाइ छ ।