इलाम/उत्तरी इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिकाको लेकमा पर्ने जौबारी आसपासका क्षेत्रमा जङ्गली जनावरको बिगबिगीले किसानहरू चिन्तित बनेका छन् ।
लेकाली किसानहरूका गोठमा भएका गाई, बाच्छा, बाख्रा जङ्गली जनावर बँदेल, चितुवा आई राति नै खाने गरेकाले किसानहरू चिन्तित बन्न थालेका छन् ।
मान्छे सुतेको मौका पारेर जङ्गली जनावरहरू गोठमा आउने र बाच्छा, बाख्रा मार्ने गर्छ । नेपाल र भारतको सिमाना जोडिएको जौबारी र त्यस आसपासका क्षेत्रहरूमा परम्परादेखि नै किसानहरूले गोठ पाल्ने गरेका छन् ।
वर्षेनी यस्ता जङ्गली जनावर किसानहरूको गोठमा आई क्षति गर्नाले किसानहरूले पिर खप्नुपरेको छ । माईजोगमाई–२ का डाकाराज खड्काले वर्षेनी एउटा गोठ बराबर ५० हजारभन्दामाथि यस्ता जनावरहरूले क्षति गर्ने गरेको बताए ।
गुराँसे, मेग्मा, तुम्लिङ, आलुबारी लगायतका क्षेत्रमा करिब पाँचवर्ष यतादेखि जङ्गली जनावरहरूले दुःख दिइरहेको किसानहरू बताउँछन् । नेपालको भू–भागबाट भन्दा भारतको सिंहलीला राष्ट्रिय निकुञ्जक्षेत्रबाट रातिको समयमा जङ्गली कुकुर, चितुवा, बँदेल आउने गरेको उनीहरूको भनाइ छ ।
हिउँदको समयमा लेकमा बढी चिसो हुने गरेकाले उचाइ कम भएको क्षेत्रमा गोठ सार्ने समय भएको र यतिबेला जङ्गली जनावरको बिगबिगी भएकाले किसानहरूलाई थप समस्या हुने गर्दछ ।
घोडाका बच्चा, बाख्रा, कुखुरा र गाईका बाच्छाबाच्छीलाई जङ्गली जनावरहरूले बढी आक्रमण गर्ने गरेका छन् । यसवर्ष मात्र हालसम्म माईजोगमाई–२ तुम्लिङ फाटक आसपासमा भएको लालीगुराँस पशुपालक समूहका २२ गोठमा पाँच लाखभन्दा बढी क्षति गरेको किसानहरू बताउँछन् ।
यति मात्र नभई जङ्गली जनावर बँदेल गाउँमा पसेर कृषकका बालीनालीसमेत नष्ट गर्ने हुनाले किसानहरू हैरानी खेप्न बाध्य छन् । रातिको समयमा जङ्गली जनावरहरू आएर खन्ने, उधिन्ने, मकै भाँच्ने गरेकाले अन्न भत्राउन नपाएको किसानहरूको गुनासो छ ।
आम्दानी नै गोठका गाईवस्तु रहेकाले यसबाट नै गुजारा चलाउनुपर्ने कृषहरूको जङ्गली जनावरले गर्दा बढी समस्या हुने गरेको छ ।
नेपाल र भारतको सिमानामा रहेको प्रहरी चौकी जौबारीका इञ्चार्ज विनोद विकले दिउँसोको समयमा जङ्गली जनावर भारतमा रहेको राष्टिङ्य निकुञ्जमा बस्ने र रातको समयमा किसानको गोठ र खेतीबारीमा बिगार गरेर जाने गरेको बताए ।