विराटनगर/विराटनगर महानगरपालिका–१ का जनप्रतिनिधिले भारतीयलाई नागरिकताको सिफारिसका लागि कागजपत्र मिलाउने जिम्मा लिई रकम असुल्ने गरेको खुलेको छ । नक्कली बाबु बनी भारतीय नगरिकलाई नागरिकता दिने मुख्य अभियुक्त विराटनगर–१ घर भई हाल कटहरी गाउँपालिका–१ बस्ने सत्यनारायण पोद्दारलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । विराटनगर १ नम्बर वडाका वडासदस्य रमेश साहसँग मिलेमतो गरी भारतीयलाई नागरिकता बनाइदिन सफल सत्यनारायणको लामो चिनजान रहेको खुलेको छ । ‘वडासदस्य भएर आएपछि साहले पोद्दारलाई कोही गैरनागरिक छन् भने ल्याउनू, नागरिकताको सिफारिस गर्ने र कागजपत्र मिलाउने जिम्मा मेरो भनेका थिए’ पक्राउ परेका सत्यनारायणले प्रहरीसँगको बयानमा भनेका छन्, ‘पहिलेदेखि नै चिनेका साहले २०६३ सालमा जन्मको आधारमा नागरिकता बनाउने टोली आएको बेला कसैको नागरिकता बनाउनु छ भने सम्पर्क राख्न पठाइदिनू यतिखेर नै मौका छ, तपाईंको पनि कमाइ हुन्छ भन्दै भनेका थिएँ ।’ पोद्दारले कान्छी श्रीमतीपट्टिका आफन्तको नाममा नागरिकता बनाएको प्रहरीमा बयान दिएका छन् । ‘भारतमा बसोबास गर्ने साढुदाइ, भाइ तथा सम्धीसमेतले आफ्ना छोराहरूको नागरिकता बनाइदिन आग्रह गरेपछि वडासदस्य साहलाई सुनाएँ’ उनले बयानमा भनेका छन्, ‘नागरिकता बनाउनको लागि सम्पूर्ण कागजपत्र मिलाउने जिम्मा वडासदस्य साहले लिए । मलाई नागरिकता दिने मान्छेको बाबु बन्नुपर्छ भन्नेसम्मको सल्लाह भएको थियो ।’ वडासदस्य साहले सम्पूर्ण कागजपत्र जुटाइदिएपछि नक्कली बाबु बनेर सत्यनारायणले बुझाएको कागजपत्रमा वडाध्यक्ष उद्धव अर्यालले सिफारिस गरिदिएका थिए । जनप्रतिनिधिले गैरनागरिकलाई नागरिकताको सिफारिस गरिदिएको आधारमा नक्कली बाबु बनी सत्यनारायणले २०७५ असोज ११ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट भारतीय नागरिक संजित पोद्दारलाई नागरिकता दिलाएका थिए । त्यस्तै २०७२ साल साउन १५ गते पनि साहसँग मिलेर सत्यनारायणले नक्कली बाबु बनेर भारतीय नागरिकलाई छोरा भनी रोशन पोद्दारको नाममा नागरिकता बनाइदिएको अदालतमा बुझाएको अभियोग पत्रमा उल्लेख छ । त्यसबेला सत्यनारायणले साहलाई मोटो रकम दिएर कागजपत्र जुटाउन जिम्मा दिए । त्यसबेला वडासचिव पुष्पा तिम्सिनाले नागरिकताको प्रमाण–पत्र अनुसूची फारममा सिफारिस गरिदिएको खुलेको छ । सत्यनारायण सात जनाको नक्कली बाबु कीर्ते नागरिकता दिनेमा नक्कली बाबु बन्ने सत्यनारायण पोद्दारले सात जना भारतीय नागरिकलाई नागरिकता दिलाएको खुलेको छ । बहुविवाह गरेका सत्यनारायणले कान्छी श्रीमतीपट्टिका छोराहरू भन्दै नागरिकता दिलाउने धन्दा नै चलाउने गरेको अनुसन्धानबाट खुलेको छ । पछिल्लो पटक जनप्रतिनिधिसँग मिलेर गैरनागरिकलाई नागरिकता दिएपछि उक्त घटना बाहिर आएको हो ।