रङ्गेली/नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको ल्याण्ड लक कण्ट्रीको पहिचान फेरिएर ल्याण्ड लिङ्क कण्ट्री बनेको बताएका छन् ।
उनले चीनका बन्दरगाहबाट व्यापार गर्ने नेपालीको धेरै पहिलादेखिको चाहना पूरा भएको बताए । ‘अहिलेको जमाना ‘कनेक्टिभिटी’ को भएकोले छेमेकी दुवै देशबाट रेल आउने तथा बन्दरगाह प्रयोग शुरु भएको छ’ उनले भने, ‘विराटनगरमा त रेल आएको सुन्दै छु, कस्तो आयो थाहा छैन ।’
नेकपा मोरङले सोमबार विराटनगरमा दीपावलीसहित आउँदै गरेका विभिन्न पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले नेपाल कलकत्तासँगै भारतको विशाखापट्टनम् तथा चीनका ४ बन्दरगाहबाट व्यापार गर्न सक्ने भएको बताए ।
नेपाल भारत तथा चीनसँग रेल र यातायातले पनि जोडिने क्रम शुरु भएको उनले बताए ।
अध्यक्ष प्रचण्डले पार्टी एकताले भारत र चीनसँगै विश्वमा नेपालीमा स्वनिर्णयको क्षमता रहेको भन्ने सकारात्मक सन्देश गएको बताए । उनले यो अवसरको प्रयोग गर्र्दै सरकारले दह्रो खुट्टा टेकेर अगाडि बढेको खण्डमा नेपाल निकै अगाडि पुग्न सक्ने धारणा व्यक्त गरे ।
उनले नेकपाको अहिलेको सरकारलाई जनताको आत्मसम्मान हुने गरी काम गर्ने अवसर युगले दिएको बताए ।
उनले नेकपाको पार्टी एकता सप्रिएकाहरूको मात्र नभएर बिग्रिएकाहरूको एकता पनि भएको बताए । उनले एकतासँगै पार्टी नेतृत्व र कार्यकर्ताको व्यवहारमा सुधार ल्याई नयाँ ढङ्गको पार्टी निर्माण गर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा अध्यक्ष दाहालले पुरानो व्यवस्थाका कर्मचारीहरूले परिवर्तनलाई आत्मसात गर्न नसक्दा पुरानै व्यवस्था फर्कने खतरा रहेको बताए । उनले भने, ‘कर्मचारीलाई परिवर्तन आत्मसात गर्न सिकाउनु पर्छ ।’ उनले जनता र कर्मचारीलाई नयाँ व्यवस्था र परिवर्तनका बारेमा बुझाउने दायित्व नेताको भएको बताए ।
अध्यक्ष दाहालले नेकपाको दुई तिहाईको अहिलेको सरकार असफल भएको खण्डमा देश असफल हुने बताए । उनले देश असफल हुनबाट बचाउन अहिलेको सरकार सानातिना भन्दा पनि ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा लागेको जानकारी दिए ।
नेकपाका महासचिव विष्णु पौडेलले नेकपाको नेतृत्वमा मात्र अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको दाबी गरे । उनले यति ठूलो व्यवस्था परिवर्तनको नेतृत्व गरेको नेकपाको सरकारले राजनीतिक परिर्वतनको माध्यमबाट समाजले गरेको अपेक्षा आर्थिक, सामाजिक परिवर्तन अहिलेको सरकारले गर्नेमा कुनै आशङ्का नगर्न आग्रह गरे ।
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, कानून मन्त्री भानुभक्त ढकाल, प्रदेश १ सरकारका मन्त्रीलगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।