भद्रपुर/सडक विस्तारको नाममा जग्गाधनीलाई जानकारी नदिई नै जग्गा कटान गरे पनि मुआब्जा नदिने भएपछि स्थानीय आन्दोलित बनेका छन् ।
झापाको भद्रपुर–५ स्थित बहुप्रतीक्षित मेची पुल जोड्ने पुरानो माछा हटियादेखि झापाचोकसम्मको सडक खण्डलाई हुलाकी राजमार्गसँग जोड्दा उक्त क्षेत्रमा पर्ने जमिनको मुआब्जा नदिने भएपछि स्थानीय आन्दोलित बनेका हुन् ।
आइतबार स्थानीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गर्दै मुआब्जा नदिए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । मेची पुलदेखि पुरानो माछा हटिया, बसपार्क हुँदै झापाचोकसम्मको कालोपत्रे सडक विस्तारका लागि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंले टेण्डर आह्वान गरी ठेक्का स्वीकृत गरिसकेको छ ।
२०७५ असार २८ गते निर्देशनालयले एक हजार २ सय ९० मिटर सडक निर्माणसहितको विस्तारका लागि करिब साढे ५ करोडमा याक्थुङहाङ निर्माण सेवा पाँचथरसँग सम्झौता गरेको हो ।
हुलाकी राजमार्ग विस्तार गर्दा केही घरधनीको जग्गा तथा भवन भत्किने भएकाले मुआब्जा माग गरेका हुन् । त्यसैका लागि मेची पुल सडक–खण्ड मुआब्जासम्बन्धी सडक विस्तार घरजग्गा पीडित सङ्घर्ष समिति गठन गरेका छन् ।
हुलाकीले सडक विस्तार गर्दा दायाँ र बायाँ १५–१५ मिटर र थप ६–६ मिटर साइड ब्याकअप हुनुपर्छ भनी राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ । हाल निर्माण हुन लागेको सडक साढे ७ मिटरको हुने हुँदा नगरपालिकाले त्यसक्षेत्रका स्थानीयको घर नक्सा पास गराउँदा सडकदेखि २१ मिटर छाडेर मात्र पास गराउने भएपछि स्थानीय मारमा परेका छन् ।
सडक विस्तारको नाममा सरकारले स्थानीयलाई उठीबाससहित सुकुम्बासी बनाउन खोजेपछि आन्दोलित बनेको सङ्घर्ष समितिका संयोजक इन्द्रकान्त झाले बताए ।
सडक–खण्डमा पर्ने ५० घरपरिवारलाई मुआब्जा उपलब्ध गराई सडक विस्तार गराउन स्थानीयको माग रहेको उनले बताए ।