जिरोपोइन्ट /धरान–१७ की एक युवतीले आफूलाई धनकुटा आहालेका एक युवाले श्रीमतीको रूपमा स्वीकार गरे पनि अहिले आएर धोका दिएको भन्दै कारबाहीको माग गरेकी छन् ।

धनकुटा आहालेका विप्लव भनिने रोशन राईले आफूलाई धोका दिएको बताएकी हुन् । केहि समय धरानकै एक मिडिया हाउसमा समेत काम गरेका रोशनलाई आफूले जापान पठाउनका लागि २० लाख रूपैयाँ सहयोग गरेको तर, अहिले आएर अर्कै केटीसँग विहे गरेर धोका दिएको बताएकी हुन् । यस विषयमा बुझ्नका लागि रोशनको फोनमा सम्पर्क गर्दा उनको फोन स्विचअफ रहेको पाइयो ।

युवतीका अनुसार आफू रोशनसँग श्रीमान श्रीमतिकाे रूपमा २ वर्षसम्म बसेर उसलाई खर्च गरी जापान पठाएकीे थिइन् । तर, रोशन फर्किएर आएपछि अर्कै युवतीसँग विहे गरेको उनले बताएकी छन् ।

उनले आफू पीडित भएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरीसमेत दिएको तर, प्रहरीले उजुरी नलिएको बताइन् । रोशनका लागि आफूले ५ महिनाको गर्भसमेत तुहाएको बताएकी छन् । ‘जापान जाँदा समस्या हुन्छ भनेर गर्भपतनसमेत गराएँ जापानबाट आएर अर्कैसँग नै विवाह गर्यो । अहिले मलाई चिन्दिन भन्छ’ –उनले भनिन् ।

उनीहरूबीच विवाह दर्ता नभएका कारणले पनि प्रहरीले ठोस प्रमाण अभावमा कारबाही अघि बढाउन नसकेको हो । पीडक रोशनलाई कानूनी कारबाही गर्दै आफ्नो २० लाख रुपैयाँ फिर्ता गरिनुपर्ने पीडित युवतीले माग गरेकी छन् ।