सूर्योदय/ सूर्योदय नपा–३ तीनखुट्टेस्थित लक्की डेरी उद्योगमा दैनिक २३ सय लिटर दूध सङ्कलन हुन्छ । त्यतिका दूधबाट मासिक पाँच हजार किलो चिज र एक सय ५० किलो नौनी उत्पादन हुने गरेको छ ।

उद्योगका सञ्चालक तुलु शेर्पाका अनुसार उत्पादित चिज र नौनी प्रतिकिलो सात सय रुपैयाँमा बिक्री हुँदै आएको छ । यसरी हेर्दा उद्योगले वार्षिक ४ करोड ३२ लाख ६० हजार रुपैयाँसम्मको कारोबार गर्ने गरेको छ ।

सूर्योदय नपा–९ बरबोटेमा रहेको फिक्कल डेरी उद्योगले पनि स्थानीय किसानबाट दैनिक १२ सय लिटर दूध सङ्कलन गर्ने गरेको सञ्चालक निदेश महतले बताए । महतका अनुसार उद्योगबाट दैनिक ३५ किलो छुर्पी र ३० किलो नौनी उत्पादन हुँदै आएको छ ।

यस हिसाबले फिक्कल डेरी उद्योगले पनि वार्षिक एक करोड ६३ लाख ८० हजार रुपैयाँको दूग्धजन्य कारोबार गर्दै आएको छ । सूर्योदय नपा–३, रुङसुङको विनायक डेरी उद्योगमा दैनिक ६ सय लिटर दूध सङ्कलन हुने सञ्चालक महेन्द्र प्रधानले बताए ।

यी तीन उद्योगसहित सूर्योदय नगरपालिकामा मात्र १५ वटा चिज फ्याक्ट्री, पाँच वटा ललीपप उद्योग र करिब २५ वटा छुर्पी उद्योग सञ्चालनमा छन् ।

सूर्योदयमा दुग्धजन्य व्यवसाय फस्टाएको वाणिज्य सङ्घ फिक्कल शाखाका सूचना अधिकारी सुजन तिम्सिना बताउँछन् । फस्टाउँदो दुग्धजन्य व्यवसायले दुग्ध उत्पादक किसानलाई खुसी बनाएको तिम्सिनाको भनाइ छ । उनले भने– ‘गाउँपालिकामा दुहुनो गाई नभएको कुनै घर छैन ।’ उद्योगहरूले चिज, छुर्पी, नौनी, ललीपप, पनिर र विभिन्न प्रकारका मिठाई उत्पादन गर्दै आएका छन् ।

उत्पादन भएको चिज काठमाडौं, पोखरा, जोमसोम, मनाङ, मुस्ताङ लगायतका स्थानमा निर्यात हुँदै आएको लक्की डेरी उद्योगका सञ्चालक तुलु शेर्पाले बताए । छुर्पी भने कुकुरको आहाराका रूपमा अमेरिका लाने गरिएको फिक्कल डेरी उद्योगका सञ्चालक दिनेश मतहले बताए ।

नौनी, पनिर, ललीपप भने स्थानीय बजारमै बिक्री हुने महतको भनाइ छ ।

इलाममा उत्पादित दुग्धजन्य वस्तुको माग बजारमा उच्च रहेकाले त्यस्ता उद्योग अझै बढ्ने क्रममा छन् । दुग्धजन्य उद्योग फस्टाउँदा रोजगारीको अवसरसमेत सिर्जना भएको छ ।

प्रत्येक उद्योगमा पाँचदेखि दश जनासम्मले रोजगारी पाएका छन् । सडक, खेतबारी र निर्माणका अन्य क्षेत्रमा काम गर्नुभन्दा दूग्धजन्य उद्योगमा काम गर्न सहज र सुरक्षित हुने लक्की डेरी उद्योगमा कार्यरत एक श्रमिकले बताए ।

सूर्योदय नगरपालिकामा मात्र तीन वटा दूग्ध विकास संस्थानको दूध सङ्कलन केन्द्र छन् ।

निजी क्षेत्रबाट पनि दुग्ध चिस्यान केन्द्र स्थापना गरिएका छन् । जसबाट दुग्ध उत्पादक किसानलाई सहज भएको सूर्योदय–९ का किसान सागर पराजुलीले बताए । किसानकै सक्रियतामा स्थापित दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरूले समेत दूध सङ्कलन केन्द्र राखेर सङ्कलन गर्दै आएको अर्का किसान सूर्योदय–१० का शिव खत्रीले बताए ।

नगरपालिकाको पशुसेवा शाखाका अनुसार नगरपालिकामा तीन वटा ठूला गाई फार्म र प्रत्येक घरमा एकदेखि पाँच वटा दुहुना गाई छन् । पशुसेवा शाखाका पशु चिकित्सक विपिनकुमार सिंहले भने–‘यहाँ पालिएका गाई ९० प्रतिशतभन्दा बढी उन्नत प्रजाति होलिस्टेन र जर्सी गाई छन् ।’ कार्यालयको दुई वर्ष अघिको तथ्याङ्कअनुसार सूर्योदयबाट प्रतिदिन ८० हजारभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

उद्योगले किसानबाट ५० रुपैयाँ प्रतिलिटरमा दूध लिँदै आएको दूग्धजन्य उद्योगका सञ्चालक बताउँछन् । यसरी हेर्दा गाउँपालिकामा दैनिक ४० लाख भन्दा बढीको दूध उत्पादन हुने गरेको छ । किसानलाई प्रोत्साहित गर्न कार्यालयले घाँसको बिउ निशूल्क उपलब्ध गराउने, विभिन्न तालिम दिने, नश्ल सुधारबारे परामर्श दिने गरेको पशु चिकित्सक सिंहले बताए ।

यद्यपि त्यतिमात्र पर्याप्त नभएको किसान र व्यवसायीको भनाइ छ । सूर्योदय नगरपालिका कृषि उपजमा चियापछि दुग्धजन्य उत्पादनले चिनिएको नगरपालिका हो । तर यस क्षेत्रलाई प्रवद्र्धन गर्न स्थानीय सरकार अनुदार बनेको किसानको आरोप छ ।

एउटै नगरपालिकाबाट त्यतिको परिमाणमा दूध उत्पादन हुनु र त्यतिका सङ्ख्यामा दुग्धजन्य उद्योग सञ्चालन हुनु खुसीको कुरा भएकाले स्थानीय सरकारले रचनात्मक ढङ्गबाट दूग्ध किसान र व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने सूर्योदय–१० का किसान शिव खत्रीले माग गरे ।