दमक/ वरिपरि धानको खेत । खेतमा झुलेका धानका सुनौला बाला । धानका बालासँगै सयपत्रीका माला । यो दृश्यले कसको मन नरमाउला ।

प्रत्येक हिन्दू नेपालीको घरघरमा मनाइने तिहार पर्वका अवसरमा आवश्यक पर्ने सयपत्री फूल र यसको मालाको माग बढ्दो छ । नेपाली उत्पादनले धान्न नसकेपछि भारतीय बजारबाट यसको खपत हुने गरेको छ ।

केही समय यता मुलुकको मुख्य उत्पादन धान बाली मासेर सयपत्रीको खेती गर्ने चलन बढेको छ । कारण यसको उत्पादन र प्रतिफल हो । धानका आलीहरूमा देख्न सकिने सयपत्रीले पुरै धानखेतलाई विस्थापन गरेको छ । यही खेती अहिले झापाका केही महिला समूहले शुरु गरेका छन् ।

धानैधानको बीचमा पर्ने केही क्षेत्रमा भने सयपत्री फूलैफूलले ढकमक्क भएको छ । ७ कट्ठा क्षेत्रफलमा सयपत्री फूल फुलाइएको छ । यो ठाउँमा यस भन्दा पहिला धान फलाइएको थियो । तर यो वर्षबाट भने यहाँका महिलाले धान फलाएनन् ।

धानलाई मासेर फूल फुलाएका छन् । दमकमा आवश्यक पर्ने फूलहरू भारत तथा अन्य ठाउँबाट आइरहेको देखेर यहाँका महिलाहरूले फूल खेती थालेको बताउँछन् ।

सामाजिक तथा उद्यमशील विकासकी अध्यक्ष विष्णु खड्काले दमकमा फूलको अवश्यकता झन्झन् बढेको देखेर फूल खेती गरेको बताइन् ।

दमक नगरपालिकाकाले महिलालाई आत्मनिर्भर बनाउने पनि कुरा गरिरहेको र यस क्षेत्रका महिलाले पनि आत्मनिर्भर बन्ने प्रस्ताव नगरपालिकामा राखेका थिए । सोही प्रस्ताव अनुरुप दमक नगरपालिकाले दमक ३ का महिलालाई फूल खेती गर्न उत्प्रेरित गरेको अध्यक्ष खड्काले बताइन् ।

दमकमा फूलको सम्भावना धेरै रहेको र फूललाई व्यवसायीकरण गर्नसके यसैमा मनग्गे कमाइ हुने नगर उप–प्रमुख गीता अधिकारीले समेत विश्वास दिलाएपछि आफूहरूले सामूहिक फूल खेती शुरु गरेको संस्थाकी उपाध्यक्ष तनकुमारी दाहालले बताइन् ।

११ जना महिलाको समूले फूल खेती शुरु गरेको यो वर्ष एक लाखको फूल बेच्ने योजनामा महिला समूह छ । यो वर्ष विभिन्न ठाउँमा फूल खेतीका लागि आवश्यक तालिममा सहभागी भएको र बिउ बीजन खरिद तथा केही प्राविधिक सहयोग दमक नगरपालिकाले गरेको छ ।

दमक नगरपालिकाले ५५ हजार बराबरको सहयोग गरेको र बाँकी ५५ हजार गरी १ लाख १० हजारको लगानी गरेर फूल फुलाइएको उनीहरूले बताए । यो वर्ष लगानीमात्र उठ्यो भने अर्को वर्ष मुनाफा गर्ने उद्देश्यले फूल फुलाउने उद्यमी महिला बताउँछन् ।

वार्षिक ५० लाखको फूल आयात दमकमा तिहारका बेलामा मात्र वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको फूल भित्रिने गरेको दमक उद्योग वाणिज्य सङ्घले जनाएको छ । यहाँ आउने फूल अधिकांश भारतीय हो ।

अहिलेसम्म दमकको आन्तरिक उत्पादन नभएको अध्यक्ष राजेन्द्र ढकालले बताए । ‘घरमा आफ्नो सामान्य प्रयोगका लागि फूल रोपिएको भए पनि व्यवसायिक रूपमा महिलाले फूल खेती गरेको पाइएको छैन ।’ अध्यक्ष ढकालले भने ।

फूल खरिदमा मात्रै दमकबाट वार्षिक लाखौं रुपैयाँ बाहिरिरहेको र यसको नियन्त्रणका लागि दमकमा पनि व्यवसायिक फूल खेती हुन आवश्यक रहेको उनले बताए ।

दमका महिलाले नै फूल खेती गर्ने हो भने फूलको बिक्री वितरणका लागि वाणिज्य सङ्घले सहयोग गर्ने अध्यक्ष ढकालले प्रतिबद्धता जनाएका छन् ।

नगरद्वारा महिला प्रोत्साहन कार्यक्रम दमक नगरपालिकाले नगरमा रहेका महिलाहरूलाई आत्मनिर्भर र व्यवसायिक बनाउन विभिन्न कार्यक्रम ल्याइरहेको छ ।

उपमेयर स्वरोजगार कार्यक्रम अन्तर्गत दमक–३ का महिलाहरूलाई फूल खेतीमा आर्थिकदेखि लिएर विभिन्न क्षेत्रमा समेत सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले हरेक महिला आत्मर्निभर बन्नु पर्ने भन्दै महिला लक्षित कार्यक्रमलाई प्रमुखताका साथ लागू गरिएको बताइन् । हरेक गाउँ तथा टोलमा व्यक्तिगत पनि फूल खेती गर्न सकिन्छ ।

सामूहिक फूल खेती गर्ने महिलालाई नगरपालिकाले समेत सहयोग गर्ने उपप्रमुख अधिकारीले बताइन् ।

उनले हरेक गाउँ र टोलमा महिलालाई उनीहरूको क्षमता र चाहनाअनुसारको तालिम समेत प्रदान गरेर महिलालाई आत्मनिर्भर बनाउने काममा नगरको सधैँ साथ रहने उपप्रमुखको प्रतिबद्धता छ ।

यो वर्ष करिब २ लाख रुपैयाँ बराबरको फूल उत्पादन भएको भए पनि आगामी वर्षदेखि दमकमा मागको मात्रा अनुसार फूल उत्पादन गरी दमकलाई फूलमा पूर्णरूपमा आत्मनिर्भर बनाउने फूल व्यवसायी महिलाहरूले लक्ष्य लिएका छन् ।